काठमाडौ : सरकारले फोहोरपानी प्रशोधन केन्द्रमै दिसाजन्य लेदो ट्रिटमेण्ट प्लाण्ट पनि बनाईरहेको छ । ललितपुरको धोबीघाट र कोड्कुमा निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रमै ढल रहित प्रणालीको लागि दिसाजन्य लेदो ट्रिटमेण्ट प्लाण्ट पनि निर्माण गरिरहेको काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा.सन्जीव विक्रम राणाले बताउनुभयो ।
‘ती फोहोरपानी प्रशोधन केन्द्रमा ढल रहित प्रणालीको लागि दिसाजन्य लेदो ट्रिटमेन्ट प्लाण्ट समेत समावेश गरिएको छ’ उहाँले भन्नुभयो ‘यी ट्रिटमेन्ट प्लाण्टहरु निर्माण भईसकेपछि सेप्टिक ट्याङ्की सफाइ व्यवसायीले झेल्दै आएको समस्या हल हुनेछ ।’
मानव मलमूत्र विसर्जन गर्ने निश्चित स्थानको अभावमा सेप्टिक ट्याङ्की सफाइ व्यवसायीले खोलानाला, बनक्षेत्र तथा खाली ठाउँमा विसर्जन गर्दै आएका छन् । जथाभावी मानव मलमूत्र विसर्जन गर्दा वातावरणीय सरसफाइमा असर पर्ने भएकाले ललितपुर महानगरपालिकाले कडाई गर्न थालेको छ ।
कार्यकारी निर्देशक राणाले सन् २०२५ सम्मको जनसंख्याको मानव मलमूत्रलाई धान्ने गरी ती दुवै फोहोरपानी प्रशोधन केन्द्रमा फिकल स्लज् ट्रिटमेण्ट प्लाण्ट (दिसाजन्य लेदो प्रशोधन केन्द्र) निर्माण भईरहेको बताउनुभयो । उहाँका अनुसार दिनको ८ घण्टा सञ्चालन गर्दा एउटा ट्रिटमेन्ट प्लाण्टले ७५ हजार लिटर प्रशोधन गर्न सक्छ । १६ घण्टा सञ्चालन गर्दा एउटै प्रशोधन केन्द्रले दिनको १ लाख ५० हजार लिटर प्रशोधन गर्ने भएकाले दुवै प्रशोधन केन्द्र सञ्चालनमा आएपछि दैनिक ३ लाख दिसाजन्य लेदो प्रशोधन गर्न सक्छ ।
विसर्जन गर्ने ठाउँको अभाव झेलिरहेका सेप्टिक ट्याङ्की सफाइ व्यवसायीको वर्तमानको समस्या त्यसपछि समाधान हुने अपेक्षा गरिएको छ ।
‘यो कुरा बोर्डले पहिल्यै किन सोचेन ?’ कार्यक्रम टक अफ द टाउनमा पत्रकार जगदीश खरेलको प्रश्नमा डा. राणाले भन्नुभयो ‘सेप्टिक ट्याङ्क राखेपछि सबै समस्या हल भयो भन्ने बुझाई हटाउनुपर्छ । हामीले ढल प्रणालीको ट्रिटमेन्ट प्लाण्ट बनाउँदा ढल रहित प्रणालीको लागि पनि ट्रिटमेन्ट प्लान्ट सँगै राखेका छौं, नराखेको होइन ।
अहिले सञ्चालनमा आईरहेको गुहेश्वरी ट्रिटमेन्ट प्लान्टमा चाहिं त्यो व्यवस्था छैन’ उहाँले भन्नुभयो । यद्यपि गुहेश्वरी ट्रिटमेन्ट प्लाण्टमा समेत केही संरचना थप गरी दिसाजन्य लेदोको पनि प्रशोधन गर्न सकिने खानेपानी मन्त्रालयका सहसचिव तिरेस खत्रीले बताउनुभयो ।
‘दिसाजन्य लेदो र फोहोर पानीको विशेषता एउटै हुँदैन । फरक फरक हुने भएकाले फोहोरपानी प्रशोधन केन्द्रमा प्रवेश गराउनु अगाडि दिसाजन्य लेदोको पूर्व प्रशोधन गर्नुपर्छ । त्यसको लागि पनि छलफल भईरहेको छ’ सहसचिव खत्रीले भन्नुभयो ।
तर धोबीघाट र कोड्कुमा निर्माणाधीन दुवै प्रशोधन केन्द्रहरु कहिले निर्माण सम्पन्न हुन्छ भन्ने एकीन छैन । ठेकेदार कम्पनीले काम नगर्दा आयोजना कार्यान्वयन निर्देशनालयले ठेक्का रद्द गरिसकेको छ । अब नयाँ प्रक्रियाबाट ठेकेदार छनौटका लागि बोलपत्र आव्हान गर्ने तयारीमा रहेको कार्यकारी निर्देशक राणाले बताउनुभयो ।
मानव मलमूत्र प्रशोधन गरेर मात्र विसर्जन गर्नुपर्ने कानुनी व्यवस्था छ । तर प्रशोधन गर्ने पर्याप्त पूर्वाधारको अभावमा काठमाडौ उपत्यकामा बसोबास गर्ने करिब ४४ लाख मानिसको मलमूत्र सीधै नदी र खोलानालामा विसर्जन हुँदै आएको छ ।
काठमाडौ उपत्यकामा ५० लाख मानिसको बसोबास रहेको आंकलन छ । ती मध्ये ३ प्रतिशत जनसंख्याको ढल मात्र प्रशोधन भएर नदीमा विसर्जन हुँदै आएको छ ।