मानव मलमूत्रले कहिल्यै नभरिने टोइलेट (भिडियो सहित)

  पी.टी.लोप्चन  877 पटक हेरिएको
🔗
129
Shares


बुटवल : ‘मानव मलमूत्रले कहिल्यै नभरिने टोइलेट’ सुन्दा अपत्यारिलो लागे पनि यो सत्य हो । बुटवल–भैरहवा सडकको दायाँ बायाँ दुवै किनारमा निर्माण गरिएका बायो टोइलेटको सेप्टिक ट्यांकी कहिल्यै भरिदैनन् । शौचालयको सेप्टिक ट्याङकी भरिने र भरिएपछि खाली गरेर विसर्जन गर्नुपर्ने झण्झट बायो टोइलेटमा हुँदैन ।

शौचालयको खास विशेषता नै यही भएको शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका इञ्जिनियर दिपक पाण्डेले बताउनुभयो । उहाँका अनुसार शौच गरेपछि मानव मलमूत्र बायोडाईजेष्टरमा जम्मा हुन्छ । २ हजार लिटरको बायो डाइजेष्टर भित्र एलम ब्याक्टेरिया हुन्छ । दिसापिसाब गरेको चौबीस घण्टामा एलम ब्याक्टेरियाले खाएर पानी मात्र निकाल्छ ।

उक्त पानी सोकपिटबाट जमिनमुनि जाने र यसले भूमिगत पानीको रिचार्जमा समेत सघाउ पुग्ने उहाँले बताउनुभयो ।

विस्तृतमा हेर्नुहोस् भिडियो :


बायो टोइलेटमा टिस्यु पेपर, धारा, बकेट, साबुन सहितको वास बेसिन, ऐना, पंखा र वेस्ट बिन हुन्छन् । फाइबर रिईन्फोर्स प्लाष्टिक (एफआरपी) ले बनेको शौचालयको बाहिरी संरचना साउण्ड प्रुफ भएकाले बाहिर जस्तोसुकै होहल्ला भए पनि भित्र सुनिदैन ।


शौचालय भित्र तापक्रमको व्यवस्थापन गर्न पंखाहरु जडान गरिएका छन् भने छानोमा २५० लिटर क्षमताको वाटर ट्याङ्क छ । उक्त ट्याङ्कमा खानेपानी संस्थाको पाइपलाइन सोझै जडान गरिएकाले कहिल्यै पानी नटुट्ने उहाँले बताउनुभयो ।

‘एलम ब्याक्टेरिया भएपछि कुनै गन्ध पनि आउँदैन । अरु शौचालयहरु निर्माण गरेपछि सञ्चालन गर्नका लागि अलि अफ्ठ्यारो छ । चुनौतीहरु पनि छन् । तर यसमा त्यस्तो छैन’ उहाँले भन्नुभयो ।

सुरुमा मेरो घर अगाडि शौचालय राख्न दिन्न भन्ने मानिसहरुले समेत हिजोआज विरोध गर्दैनन् । शौचालय राखेकै कारण आफूहरुलाई कुनै अवरोध भएको महसुस नभएको उनीहरु बताउँछन् ।

६ महिनासम्म शौचालय सञ्चालन नगरे एलम ब्याक्टेरिया मर्ने र शौचालयको बायोडाइजेस्टर भरिदै आउने उहाँले बताउनुभयो । त्यस्तो अवस्थामा एलम क्याक्टेरियालाई अरु चलिरहेको शौचालयबाट ल्याएर हाल्न सकिने उहाँको अनुभव छ ।

शहरी क्षेत्रमा जग्गाको अभावका कारण ठूलो क्षमताका शौचालयहरु बनाउन नसकिरहेको बेला ‘सिङ्गल सिटे बायो टोइलेट’ भरपर्दो विकल्प हुन सक्छ । शौचालयमा जम्मा हुने दिसाजन्य लेदो शौचालय भएकै ठाउँमा तह लाग्ने हुँदा खाली गरेर ढुवानी गर्नुपर्ने र विसर्जन गर्नुपर्ने झण्झटलाई समेत यसले समाप्त पार्ने तिलोत्तमामा बनेका शौचालयले पुष्टि गरिसकेका छन् ।

दिसाजन्य लेदोलाई बाहिर विसर्जन गर्नु नपरेपछि, फोहोरपानीलाई समेत प्राकृतिक तवरबाट शुद्धिकरण गरी जमिनमा रिचार्ज भएपछि ‘बायो टोइलेट’ वातावरणको साथी भएन त ?

यो पनि पढ्नुहोस्, बायो टोइलेट अर्थात वातावरणको साथी https://washkhabar.com/np/2023/12/14/33747


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार