बायो टोइलेट अर्थात वातावरणको साथी (भिडियो सहित)

  पी.टी.लोप्चन  787 पटक हेरिएको

बुटवल : बुटवल–भैरहवा सडकको दायाँ बायाँ दुवै किनारमा एकैनासका रहर लाग्दा सार्वजनिक शौचालयहरु देखिन्छन् । चार बर्ष अघि बुटवल–भैरहवा सडकको योगीकुटीदेखि ड्राइभरटोल खण्डमा मात्र देखिने ती टोईलेटहरु हाल बेलहिया नाकासम्मै विस्तार भएका छन् ।

२०७६ चैत्रमा शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले योगीकुटीदेखि ड्राइभरटोल सम्मको सडकको दुवै किनारमा ५/५ वटा गरी १० वटा टोइलेट निर्माण गरेको थियो । बायो टोइलेटको नामले परिचित ती टोईलेटहरु वातावरणमैत्री भएका कारण अन्य सरकारी तथा निजी क्षेत्रले समेत विस्तार गरी बेलहिया नाकासम्मै पुर्‍याएका हुन् ।

विस्तृतमा हेर्नुहोस् भिडियो :

जस अन्तर्गत ड्राईभर टोलदेखि शंकरपुरसम्म आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले, कोटिहवा चोक देखि पथडाँडा चोकसम्म तिलोत्तमा नगरपालिकाले र त्यस पछिको भागमा सिद्धार्थनगर नगरपालिकाले निर्माण गरेका हुन् । हाल बुटवल–भैरहवा सडकको योगीकुटी देखि बेलहिया नाकासम्म ३० भन्दा बढी सिङ्गल सिटे बायो टोईलेटहरु छन् ।


सुरुमा एउटै शौचालयमा महिला र पुरुष दुवैका लागि अलग अलग्गै बनाउने कुरा भएपनि सडकको दायाँ बायाँ किनारमा बनाउँदा आवश्यकताको आधारमा महिला र पुरुष दुवैले प्रयोग गर्न सक्ने गरी निर्माण गरिएको शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका इञ्जिनियर दिपक पाण्डेले बताउनुभयो ।

सार्वजनिक शौचालयमा पीपीपी मोडेल

शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका इञ्जिनियर दिपक पाण्डे सार्वजनिक शौचालय निर्माण गर्न सुरुमा सडक डिभिजन कार्यालय र तिलोत्तमा नगरपालिका सँग छलफल गरेको बताउनुहुन्छ । ‘सार्वजनिक शौचालय राख्दा भोलि नगरलाई केही अफ्ठ्यारो पर्छ कि ? केही चुनौतीहरु आउँछन् कि भनेर छलफल गरियो, उहाँहरु पनि सकारात्मक हुनुभयो । सडक डिभिजन कार्यालयले पनि ठिक छ, यो सडकको ग्रिनल्याण्डमा खासै असर गर्दैन भन्नुभयो र हामीले सिङ्गल सिटे सार्वजनिक शौचालय बनायौं’ इञ्जिनियर पाण्डेले भन्नुभयो ।


भारतको इलेफो बायोटेक कम्पनीसँगको सहकार्यमा संस्थाले शौचालय सञ्चालन गर्न थालेको ४ बर्ष भयो । शौचालयको दैनिक सरसफाइ तथा सञ्चालनका लागि एक जना कर्मचारी खटाएको छ । शौचालयमा खर्च हुने विद्युत महसुल तिलोत्तमा नगरपालिकाले बेहोदै आएको शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष झविन्द्र भण्डारीले बताउनुभयो ।


‘हामीले आफैले बनाएको शौचालयमा आफैले कर्मचारी राखेका छौं, आफै सफा राख्छौं । कुनै सरकारी निकायलाई जिम्मा दिएर दिगो रहन सक्दैन’ अध्यक्ष भण्डारीले भन्नुभयो । खानेपानी संस्था आफैले सञ्चालन तथा व्यवस्थापन गर्दै आएको र प्रयोगकर्ताले कुनै शुल्क तिर्नु नपर्ने यो शौचालय नेपालकै नमुना भएको उहाँको दाबी छ ।

कतिपय उच्छृखल मानिसहरुले धारा, पंखा,बल्बहरुमा क्षति पुर्‍याईदिने गरेको र त्यसलाई समेत तत्काल मर्मत सम्भार गरी सुचारु अवस्थामा राख्ने गरिएको अध्यक्ष भण्डारीको भनाइ छ । शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले स्थापना गरेको १३ वटा शौचालयको सञ्चालन खर्च मात्र मासिक १ लाख हाराहारी आउने गरेको उहाँले बताउनुभयो ।

शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले ड्राइभरटोल हाटबजार, योगीकुटी हाटबजार र मगरघाटमा डबल सिटका सार्वजनिक शौचालय निर्माण गरेका छन् ।

सबै शौचालयहरु बिहान ६ बजेदेखि राती ९ बजेसम्म खुला रहन्छन् । बिहानीको समयमा मर्निङ वाक गर्नेहरु र दिउँसो तथा बेलुकीको समयमा बसबाट ओर्लने यात्रुहरु बायो टोइलेटका प्रयोगकर्ता हुन् ।

मानव मलमूत्रले कहिल्यै नभरिने शौचालय …………. अर्को अंकमा


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार