
काठमाडौ : मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ । बुधबारदेखि सुरुङमा पथान्तरण गरिएको पानी सुन्दरीजल आईपुगेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्कि अहमद अन्सारीले जानकारी गराउनुभयो।
‘बुधबारदेखि सुरुङमा पथान्तरण गरिएको पानी आज सुन्दरीजल आइपुगेको छ । सुन्दरीजलमा पानी जम्मा गरी प्रेसर पुगेपछि यसलाई प्रशोधन गरिनेछ’ उहाँले भन्नुभयो ‘प्रशोधन गरिसकेपछि माघ १ गतेबाट पानी वितरण गर्ने तयारी भईरहेको छ।’
सुन्दरीजल स्थित पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेपछि उपत्यकामा रहेका पानी वितरण केन्द्रहरुबाट वितरण गरिनेछ । पानी प्रशोधनका लागि सुन्दरीजलमा साढे आठ आठ करोड लिटर क्षमताका दुई वटा प्रशोधन केन्द्र बनेका छन् ।
प्रशोधनबारे विस्तृतमा हेर्नुहोस् यो भिडियो :
गत साउनमा मेलम्ची नदीमा आएको बाढीका कारण अनिश्चित भएको मेलम्चीको पानी पुनः वितरण गर्ने गरी काम भइरहेको हो। समितिले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर पानी पथान्तरण गरेको हो।
पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोबीच २८ दिनभित्र काठमाडौंमा पानी पथान्तरण गर्ने गरी सम्झौता भएको थियो। दुई सिफ्टमा काम गरेर भए पनि पुस मसान्तभित्र पानी पथान्तरण गरिसक्ने आयोजनाको लक्ष्य अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरिएको थियो।
२०८० साल असार ८ गते बर्षायामको जोखिमलाई मध्यनजर गरी सुरुङ मार्फत मेलम्चीको पानी पठाउन बन्द गरिएको थियो । २०८० साल साउन २८ र साउन २९ गतेको बाढीले मेलम्चीको हेडवर्क्समा क्षति पुर्याएको थियो ।


2934 पटक हेरिएको 

