भरोसा अस्पतालले फोहोर वर्गीकरण र निर्मलीकरणमा सुधार गर्नु पर्ने

  वास खबर सम्बादाता  180 पटक हेरिएको

काठमाडौँ : फोहोरलाई स्रोतमै वर्गीकरण गर्न, प्रकृति र मात्राको अभिलेखन गर्न अस्पतालहरुलाई सुझाव दिइएको छ । मध्य बानेश्वरमा रहेका भरोसा र भेनस अस्पतालको अनुगमनका क्रममा सुझाव दिँदै अधिकारीहरुले अहिलेको अनुरोधलाई सुधारको मौकाका रुपमा लिन आग्रह गर्नुभयो ।

भरोसा अस्पतालले फोहोर उत्पादन हुने हरेक ठाउँहरुमा (वार्ड, शल्यक्रिया हुने ठाउँ, इमर्जेन्सी, प्रयोगशाला, भण्डारण कक्ष) २० लिटर क्षमताका अटोक्लेभ मेसिन राखेको छ । यो राम्रो पक्ष हो ।

यति राम्रो भइकन पनि उत्पादित फोहोर वर्गीकरण भएको छैन । फोहोर राख्ने बिनहरुमा रंग संकेत मिलेको छैन । भएका बिन पनि बाकस बनाएर लुकाइएको छ । फोहोर हाल्ने बिन त देखिने हुनुपर्छ नि, होइन? अनुगमन टोलीको प्रश्नमा अस्पतालकी नर्सिङ् सुपरीटेन्डेन्ट लिस्का महर्जनले भन्नुभयो, ‘फोहोर देखेर विरामी र आफन्तलाई नकारात्मक असर नपरोस् भनेर फोहोर राख्ने दराज बनाएका हौँ ।’ २५ वेडको अस्पतालमा कति फोहोर उत्पादन हुन्छ । अभिलेख राख्ने गरिएको छैन ।

भेनसको अवस्था पनि उस्तै

मध्य बानेश्वरकै भेनस अस्पतालको फोहोर व्यवस्थापन प्रणाली कमजोर छ । वर्गीकरण, ढुवानी, निर्मलीकरण र भण्डारण प्रणालीका हरेक ठाउँमा तत्काल सुधार गर्नु पर्ने अवस्था छ । भएको अटोक्लेभ मेसिन माथिल्लो तलामा छ । फोहोर भण्डारण कक्ष भूमिगत तलामा छ । यो उचित तरिका होइन । अटोक्लेभ मेसिन भूमिगत तलामा सार्नु, फोहोर स्रोतमै वर्गीकरण गर्नु, टोलीले जुनसुकै समयमा आउँदा पनि यति व्यवस्था भइसक्नु पर्ने कुरा भनेर फर्किएको छ ।

अनुगमनमा अपेक्षित अवस्था पाइएन । तत्काल सुधार नगर्ने हो भने कारवाहीको प्रक्रियामा जानु पर्ने हुन्छ । वातावरण व्यवस्थापन विभागकी वरिष्ठ इञ्जिनियर निशा कोइराला भन्नुहुन्छ, ‘यो अनपेक्षित अवस्था हो ।’

जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले भन्नुभयो, ‘प्रक्रियाको कुनै एक ठाउँमा गल्ती भयो भने सामान्य फोहोरमा संक्रमित फोहोर मिसिने खतरा हुन्छ । यसकारण एक ठाउँमा राम्रो भएर मात्र पुग्दैंन ।’

मिसिएको फोहोर छुट्याउन पर्‍यो भने थप श्रम, सिप, समय, प्रविधि र पैसा चाहिन्छ । यो खबर मेट्रो न्यूजले प्रकाशन गरेको छ।

वातावरण व्यवस्थापन विभागका अधिकृत राजाराम कर्माचार्यका अनुसार स्रोतमा फोहोर वर्गीकरण नगरेर पहिलो त अस्पतालहरुले आफ्नो दायित्व पूरा गरेनन । दोस्रो मिसिएको फोहोर वर्गीकरण गर्न थालेर थप ५ चीज (श्रम, सिप, समय, प्रविधि र पैसा) खर्च गरिरहनु परेको छ । यसले व्यवस्थापन लागत बढाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार