यूनाइटेड क्लबद्वारा जानकी माविमा सेनिटरी प्याड भेण्डिङ मेसिन वितरण


पोखरा : यूनाइटेड क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम अन्तर्गत चौथो दिन मंगलबार पोखरा–१७ महतगौंडामा रहेको जानकी माविमा अध्ययनरत छात्रालाई लक्षित गरी सेनिटरी प्याड भेण्डिङ मेसिन वितरण गरेको छ ।

भेण्डिङ मेसिन वितरण गर्दै पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा सदस्य शिवराम भण्डारीले विद्यालयमा छात्राहरुलाई भेण्डिङ मेसिनले सेनिटरी प्याड वितरणमा मितब्ययिकता र सहजता कायम गर्ने बताउनुभयो । छात्राहरुले महिनावारीको वेलामा अझै पनि आफ्ना समस्याहरु खुलेर भन्न नसक्ने अवस्था भएकोले अत्याधुनिक मेसिनबाट आफैले प्याड झिक्न सक्ने व्यवस्था गर्दा यसले महिनावारी स्वच्छता व्यवस्थापनमा थप सहयोग पु¥याउने बताउनुभयो ।

उहाँले विद्यालयमा प्रभावकारी रुपमा महिनावारी स्वच्छता व्यवस्थापन हुँदा सो समयमा छात्राको विद्यालयमा हुने अनुपस्थितिको दर कम गर्दै छात्राहरुको पढाइलाई थप ऊर्जा दिने बताउनुभयो ।

विद्यालय ब्यवस्थापन समितिका सदस्य हरि प्रसाद बास्तोलाले सेनिटरी प्याड भेण्डिङ मेसिनको मूल्यभन्दा महत्व वढी रहेको वताउदै जानकी माविमा अध्ययनरत विद्यार्थीहरुले सिक्दै कमाउदै कार्यक्रम मार्फत बाँसका सामग्रीहरु निर्माण गर्दै आइरहेको र त्यसको उपयोग र बजारीकरणका लागि यूनाइटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवमा स्टल राखेर त्यसको प्रवद्र्धन गरिदिन समेत आग्रह गर्नुभयो ।

यूनाइटेड क्लबका पुर्व अध्यक्ष सुक बहादुर गुरुङले यूनाइटेड क्लब १४ आंै वर्ष सम्म आइपुग्दा पोखरा महानगरको ३३ वटै वडाका विभिन्न विद्यालयहरुमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिसकेका वताए । स्थापनाकालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रमा काम गर्दै आईरहेकोमा यसपटक पोखरा १७ महतगौडामा रहेको जानकी माविमा अध्ययनरत छात्राहरुलाई लक्षित गरी प्रदान गरिएको सेनेटरी प्याड भेन्डिङ मेसिनले छात्राहरुको स्वास्थ्य संगै अध्ययनमा सहायता पुग्ने विस्वास ब्यक्त गरे ।

विद्यालयका प्रध्यानाध्यापक अर्जुन कँडेलले यूनाइटेड क्लबले प्रदान गरेको भेण्डिङ मेसिन मार्फत विद्यालयमा अध्ययनरत छात्राहरुले महिनावारीको समयमा आवश्यक पर्ने सेनिटरी प्याड सहजै प्राप्त गर्न सक्ने भएकाले छात्राहरुलाई कुनै झञ्झट ब्यवहोर्न नपर्ने र उनीहरुको पढाइलाई समेत सहायता पुग्ने उल्लेख गर्नुभयो ।


कवच भेण्डिङ मेसिन के हो ?

सो अवसरमा वोल्दै क्लबका कार्यसमिति सदस्य तथा सेनिटरी प्याड भेण्डिङ मेसिन वितरण कार्यक्रमका संयोजक जयराम आचार्यले नेपालमै बनेको अत्याधुनिक भेण्डिङ मेसिन खरिद गरी विद्यालयलाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । क्लबले विद्यालयलाई नेपालमा नै बनेको कवच सेनिटरी प्याड भेण्डिङ मेसिन उपलब्ध गराएको हो । यसलाई कैचो समूहले उत्पादन गरेको हो । यो कम्पनी रुपन्देही जिल्लामा रहनेगरी दर्ता भएको छ ।

कम्पनीका अनुसार हालसम्म विभिन्न क्षमताका हजारौं सेनिटरी प्याड भेण्डिङ मेसिन बिक्री गरिसकेका छन् । सबैभन्दा सानोले ५० र ठूलोले ५५० प्याडहरु एक पटकमा भेण्डिङ गर्न सक्छ । यस मेसिनमा बजारमा उपलब्ध हुने सबै प्रकारका सेनिटरी प्याडहरु भेण्डिङ गर्न मिल्नेगरी राख्न सकिन्छ ।

यस कम्पनीले टोकन र कार्ड आवश्यक पर्ने दुई किसिमका भेण्डिङ मेसिन तयार गरेको छ । टोकन प्रयोग हुने मेसिनका लागि विद्युत आवश्यक हुँदैन, तर कार्ड प्रयोग गर्ने मेसिनका लागि विद्युत आवश्यक हुन्छ । कार्ड आवश्यक पर्ने मेसिनका लागि समेत आवश्यक कार्ड कम्पनीले नै मेसिनसँगै उपलब्ध गराउँदै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार