दैलेख : दैलेखको दुल्लु नगरपालिकाको वडा नंं. १२ मा महिनावारी स्वच्छता व्यवस्थापनका बिषयमा धामी झाँक्री पण्डित, शिक्षक, किशोर किशोरी र जनप्रतिनिधिसँग अन्तरक्रिया गरिएको छ । महिनावारीको बिषयमा समाजमा व्याप्त रहेको गलत धारणाबारे छलफल गरी मर्यादित महिनावारी स्वच्छता व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बिषयमा जानकारी गराउने उद्देश्यले छलफल आयोजना गरिएको हो ।
विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा एकीकृत जलश्रोत ब्यवस्थापन कार्यक्रम हेल्भेटास नेपालको आर्थिक सहयोग र दुल्लु नगरपालिकाको वडा नम्बर १२ को कार्यालयको समन्वयमा सोसेक नेपालले अन्तरक्रियाको आयोजना गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा पण्डित लक्ष्मी लम्सालले घरका महिलाहरुले महिनावारी भएको समयमा पनि अर्का महिलालाई उस्तै व्यवहार गरे पुरुषहरुले किन घरभित्रै नराखेको भनेर प्रश्न नगर्ने बताउनुभयो । ‘महिलाहरुले महिनावारी भएका दिदीबहिनीहरुलाई समान व्यवहार गर्नुभयो भने पुरुषले किन भित्रै बसेको भन्छ जस्तो मलाई लाग्दैन’ पण्डित लम्सालले भन्नुभयो ‘त्यसैले आमा समूह, महिला स्वास्थ्य स्वयं सेविका मार्फत तालिम तथा सचेतीकरण कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता छ।’
उहाँले धामीसँग अलग्गै र किशोरीसँग अलग्गै कार्यक्रम सञ्चालन गर्नुपर्ने र खासगरी विद्यालय र स्वास्थ्य संस्था मार्फत कार्यक्रमहरु अगाडि लैजान सक्यौं अहिलेको समस्या समाधान हुने बताउनुभयो।
यस्तै महिला स्वास्थ्य स्वयं सेविका सन्तोषी लम्सालले छाउगोठमा आफू पनि बसेको र अहिले भने भान्सा कोठामा सुत्ने गरेको अनुभव सुनाउनुभयो । ‘अलग्गै बाख्राको गोठ माथि बनाएको थिएँ । अहिले चाहिं भान्सामा सुत्छु’ उहाँले भन्नुभयो । बार्ने कुरामा अहिले पनि पाँच दिन सम्म बार्दै आएको र सरसफाइ र स्वच्छ खानामा जोड दिनुपर्ने उहाँको भनाई छ । ‘यो समयमा स्वच्छ तथा पोषिलो खानेकुरा खाने, सफा ठाउँमा बस्ने गर्नुपर्छ’ उहाँले भन्नुभयो ।
कार्यक्रमको अन्त्यमा अन्तरक्रियामा उपस्थित सबैले ‘वरिपरि र घरमा मर्यादित महिनावारी स्वच्छता व्यवस्थापन गर्नेछौं । हाम्रो घरमा हाम्रा छोरी बहिनी, बुहारीहरुलाई चर्पीको प्रयोग गर्न लगाउनेछौं । हामी हाम्रा छोरी बहिनीहरुलाई सुरक्षित स्थानमा घरमा नै सुत्ने व्यवस्था गर्नेछौं, हामी हाम्रा छोरी बहिनीहरुलाई मर्र्यादित रुपमा काम गराउन र पोषणयुक्त खाना खुवाउन तयार छौं’ भन्दै प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा वडा अध्यक्ष लिलराम लम्साल, शिक्षक राजेन्द्र लम्साल र किशोरी अस्मिता परियारले पनि आफ्नो अनुभव र भूमिकाको बारेमा आ आफ्नो विचार व्यक्त गर्नुभएको थियो।