पाल्पा : महिनावारी प्रतिको गलत धारणा हटाउन भन्दै पाल्पामा सप्ताहव्यापी ‘महिनावारी मेला’ भैरहेको छ। तानसेन टुँडिखेलमा भैरहेको महिनावारी मेलामा महिनावारी सँग सम्बन्धित वक्तृत्वकला प्रतियोगिता, विद्यालयमा सचेतना कार्यक्रम, जनचेतनामूलक नाटक लगायतका कार्यक्रम भैरहेको छ ।
महिनावारी बारे धेरैजसो अहिले पनि खुलेर कुरा नगर्ने र प्राकृतिक प्रक्रियाबारे ग्रामीण क्षेत्रमा नकारात्मक सोच र भ्रम रहेकाले मेलाको माध्यमबाट सचेतना जगाउने उद्देश्यले मेला आयोजना गरिएको कार्यक्रम संयोजक स्मारिका सिंह प्रधानले बताउनुभयो।
मेलामा प्रजनन स्वास्थ्य, सरसफाइ र महिनावारीमा आवश्यक खानपिन तथा पुनः प्रयोग गर्न मिल्ने प्याडबारे जानकारी गराउनुका सागै मेलामा राखिएका स्टलमा महिनावारी प्याडको प्रयोग र यसको फाइदा, महिनावारी कप, महिनावारीमा पोषणयुक्त खानेकुराका विषयमा समेत जानकारी गराइएको कार्यक्रम संयोजक प्रधानले बताउनुभयो।
तानसेन नगरपालिका–६, का वडाध्यक्ष सागरमान महर्जनले महिनावारी मेलामा सहभागी भएर गलत धारणा हटाउन सहयोगी बनेको बताउनुभयो । यस्ता मेलालाई ग्रामीण भेगमा पुगेर सचेत गराउन सकियो भने प्रभावकारी हुने उहाँको विश्वास छ । आगामी वर्षको बजेटमा यस्ता सचेतनामूलक कार्यक्रमका लागि सम्बोधन गर्न स्थानीय तहलाई उहाँले गर्नुभयो।
महिनावारी सम्बन्धी कुः प्रचलन हटाउन, चेतना जगाउन मेला प्रभावकारी हुने रोटरी क्लब अफ पाल्पा लुम्बिनीका अध्यक्ष रमेश न्यौपानेले बताउनुभयो।
आगामी दिनमा स्थानीय तहले यस्ता मेला आयोजना गर्ने हो भने महिनावारीप्रति भएका भ्रमहरु चिर्न सहज हुने स्वास्थ्य कार्यालय पाल्पाका प्रजनन स्वास्थ्य फोकल पर्सन तथा सूचना अधिकारी टिकाराम अधिकारीले बताउनुभयो । महिनावारी सम्बन्धी गलत धारणा र अन्धविश्वास चिर्न मेला सहयोगी बनेको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।
महिनावारी मेलामा विद्यार्थीहरु, युवा–युवती र आमा समूहबाट गरी ५ सयभन्दा बढी सहभागी रहेको आयोजक रोट्र्याक्ट क्लब अफ पाल्पा लुम्बिनीले जनाएको छ । सहभागीहरुलाई महिनावारीको बारेमा चेतना जगाइने खालका नाटक, नृत्य पनि देखाइएको थियो। अभियानमा लुम्बिनी मेडिकल कलेज, नेपाल परिवार नियोजन संघ, स्वास्थ्य कार्यालय, पाल्पा टेक्निकल इन्स्टिच्युट लगायतको समन्वय छ ।