चितवन : चितवनको इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा विश्व महिनावारी स्वच्छता दिवसको अवसर पारेर विभिन्न कार्यक्रमहरु गरिएको छ । महिनावारी स्वच्छता व्यवस्थापन दिवस लाई लक्षित गर्दै इच्छाकामना गाउँपालिका सँगको समन्वयमा वाइन टु वाटर नेपालद्वारा इच्छाकामना गाउँपालिका वडा नं. ७, खेतबारी, चितवनका आमा समूहका महिलाहरुलाई २ दिने अभिमुखीकरण, पुन: प्रयोग योग्य प्याड निर्माण तालिम र वाइन टु वाटर नेपालको आफ्नै उत्पादन खुसी प्याड वितरण गरिएको हो।
तालिममा खेतबारी आमा समूहमा संलग्न २७ जना महिलाको सक्रिय सहभागिता रहेको थियो। पुन: प्रयोग योग्य प्याड बनाउन आवश्यक पर्ने सुती कपडा, सेतो फलाटिनको कपडा र वाटर प्रुफ कपडा र अन्य सामाग्री संस्थाले उपलब्ध गराएको थियो । महिलाहरुले आफ्नो ज्ञानको सदुपयोग गर्ने र भविष्यमा व्यवसायिक ढाँचामा पहल गर्ने आफ्नो रुचि पनि व्यक्त गरे ।
दिवसकै अवसरमा विद्यालयममा महिनावारी स्वच्छता व्यवस्थापन जनचेतना जगाउने उद्देश्यले र जागरुकता ल्याउनको निम्ति इच्छाकामना गाउँपालिकाका ३ वटा विद्यालयका विद्यार्थी तथा महिला शिक्षकहरुलाई १ दिने अभिमुखीकरण तथा प्याड वितरण गरिएको छ। श्री राष्ट्रिय आधारभूत विद्यालय, वडा नं. ६, पैरेनि, श्री राष्ट्रिय आधारभूत विद्यालय, वडा नं. २ मायाटार र श्री ढुङ्ग्रे मावि, वडा नं. ६, ढुङ्ग्रे को १५४ विद्यार्थी तथा महिला शिक्षकहरुको उपस्थितिमा यो कार्यक्रम सम्पन्न गरिएको हो।
उक्त कार्यक्रममा विद्यार्थीहरुलाई २ प्याकेट खुसी प्याड र १५० थान इको (Eco) साबुन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो । यसका साथै बिभिन्न रेडियो मार्फत महिनावारी स्वच्छता ब्यबस्थापन सम्बन्धी जनचेतनामुलक सन्देस तथा कार्यक्रमहरु संचालन गरिएको कुरा वाइन टु वाटर नेपालका अनुगमन अधिकृत शैली चित्रकारले जानकारी गराउनुभयो।
महिनावारी स्वच्छता दिवस विश्वव्यापी स्तरमा प्रभावकारी महिनावारी स्वच्छता व्यवस्थापन (MHM) को महत्त्वलाई उजागर गर्न मे २८ मा मनाइने वार्षिक सचेतना दिवस हो। यसै विषयवस्तुलाई लक्षित गर्दै वाइन टु वाटर नेपालले सामुदायिक तथा विद्यालय स्तरमा सम्मानजनक महिनावारी सम्बन्धी जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउँदै आएको छ।