
बैतडी : खोटेसल्लाको वनले खानेपानीका मुहान सुके पछि यहाँ काफलका बिरुवा रोप्ने भएको छ । काफल रोप्न चार हजार खाडल खनिएका छन् । काफलको रुख बाह्रै महिना हरियो हुने भएकाले पानी सञ्चित गर्ने र काफलको फल बेचेर आम्दानी समेत गर्न सकिने भएकाले यस्तो प्रजाति रोप्न लागेको हो ।
खोटेसल्लाका कारण पानीका मुहान सुकेपछि तल्लो स्वराड क्षेत्रको मेलौली नगरपालिका–९, विशालपुरका सामुदायिक वनमा काफल रोप्न चार हजार खाडल तयार पारिएको वडाध्यक्ष लोकराज भट्टले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ९५ जना महिलाले खाडल तयार पारेको उहाँले बताउनुभयो । उहाँले सल्लाका वनमा बर्षेनी आगलागी हुँदा अन्य हरियाली बिरुवा नाश भएपछि काफल रोप्न खाडल खनिएको बताउनुभयो ।
स्थानीय असुर–मौजा सामुदायिक वनको टिकको लेकमा खाडल तयार पारिएको सामुदायिक वनका अध्यक्ष महेन्द्र भट्टले बताउनुभयो । सल्लाको रुख एकैचोटि विस्थापित गर्न गाह्रो हुने भएकाले हरेक वर्ष चार हजार खाडल खनेर पानी सञ्चित गर्ने बिरुवा रोप्ने लक्ष्य राखिएको सामुदायिक वन उपभोक्ता समितिका सचिव रामदत्त भट्टले बताउनुभयो ।
सल्लाको वनका कारण तल्लो स्वराड क्षेत्रको पाटन, मेलौली नगरपालिका, शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिका–१ का अधिकांश पानीका मुहान सुक्दै गएका छन् । सल्लाको रुखले पानी सञ्चित गर्न नसक्ने भएकाले विकल्पमा अन्य बिरुवा रोप्नुपर्ने डिभिजन वन कार्यालय बैतडीका अधिकृत दिलीपकुमार यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यहाँ तीन प्रकारका सल्लाको प्रजाति छन् । लौटसल्ला, द्वारसल्ला र खोटेसल्ला । यीमध्ये खोटेसल्लाको वन क्षेत्र बढी छ । खोटेसल्लाले पानी सञ्चित गर्न सक्दैन । त्यस कारण अन्य प्रजातिका बिरुवा रोप्नुपर्ने देखिएको छ ।” उहाँका अन्ुसार, “यो वर्ष डिभिजन वन कार्यालय मार्फत काफलको वृक्षारोपण गर्ने तयारी भएको छ । वृक्षारोपणका लागि हामीले नर्सरी स्थापना गरेका छौँ । आगलागी नियन्त्रण र जथाभाबी सडक खन्न बन्द गरेर पानी सञ्चित गर्ने बिरुवा रोप्न सके पानीका मुहान जोगाउन सकिन्छ ।”
खोटेसल्लाको वन क्षेत्र भएको शिवनाथ गाउँपालिकामा पानीका सबै मुहान सुकेपछि महाकाली नदीबाट पानी लिफ्ट गर्न ४४ करोड रुपियाँको गुरुयोजना तयार भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभएको खबर गोरखापत्रले प्रकाशन गरेको छ।
उहाँले भन्नुभयो, “सल्लाको वन त पूरै हटाउनुपर्ने देखियो । खोटेसल्लाका कारण शिवनाथमा पानीका मुहान सुके । सल्लो हटाउनुअधि वनमा अन्य प्रजातिका बिरुवा बाज, काफल, लालीगुँरास, सिलङ्गो रोप्नु पर्छ । सामुदायिक वनका पदाधिकारीले यस्तो कार्यक्रम ल्याए गाउँपालिकाले सक्दो सहयोग गर्नेछ ।”


350 पटक हेरिएको 

