भूमिगत पानीको सतह २ मिटर घटेको संस्थान प्रमुख शाहको भनाइ, हातेपम्पको पानी सुक्दै

  वास खबर सम्वाददाता  875 पटक हेरिएको


धनगढीः कैलालीको धनगढीमा नेपाल खानेपानी संस्थानका ग्राहकको सङ्ख्या ९ हजार एक सय बढी छ। खानेपानी संस्थानले दैनिक १४ लाख लिटर पानी वितरण गर्दै आएको छ। तर, गर्मी मौसम सुरु भएसँगै खानेपानीको माग बढेको छ। हाल दैनिक १७ लाख लिटर खानेपानीको माग छ। धेरै उपभोक्ताहरुको नल्कासमेत सुकेपछि खानेपानीको माग बढेको हो। गर्मीसँगै नल्काको पानी सुकेपछि उपभोक्ताहरु संस्थानको पानीमा निर्भर छन्।

खानेपानी संस्थान, धनगढीका प्रमुख शैलेन्द्र शाहले धनगढीमा भूमिगत पानीको सतह २ मिटरसम्म घटेको बताउनुभयो। उहाँले भन्नुभयो ‘हाम्रो भूमिगत पानीको स्रोत हो। २ मिटर पानीको सतह घटेको छ। पानी तान्न समस्या त भएको छैन। बत्ती जाने, सडक र नाली निर्माण गर्दा आपूर्ति बन्द हुने गरेको छ। खडेरीले हातेपम्पहरु सुकेका छन्।’

खानेपानी संस्थानले २१ मिटर गहिरो भूमिगत पानी उपभोक्तालाई वितरण गर्दै आएको छ। धनगढीमा आठवटा पानी वितरणका लागि ट्याङ्की निमार्ण गरिएका छन। १२ वटा बोरिङ्ग भूमिगत पानी तान्न गाडिएका छन्। खानेपानी संस्थानका बोरिङ्गहरुमा भूमिगत पानी आउने गरेको भएपनि पानीको सतह भने घटेको छ। धनगढीमा गर्मीका कारण हाल २ मिटरसम्म पानीको सतह घटेको हो।

दैनिक १७ लाख लिटर पानीको आपूर्ति गर्न संस्थानलाई समस्या भइरहेको छ। शाहले चैतदेखि पानीको सतह कम हुँदै गएको बताउनुभयो। उहाँले भन्नुभयो ‘धनगढीमा १२ वटा बोरिङ्ग लगातार चालु छन्। १४ लाख लिटर पानी माग थियो। अहिले १७ लाखसम्म पुगेको छ। हामीलाई सन्तुलन मिलाउन समस्या हुने गरेको छ। पानी परेको भए, सहज हुने थियो।’

खानेपानी संस्थानलाई बोरिङ्गको पानी तान्न २६५ देखि २७० वाट विद्युतको भोल्टेज आवश्यक पर्छ। तर, अनियमित विद्युतका कारण पानी आपूर्तिमा समस्या भइरहेको छ। नाली तथा सडक निर्माणका कारणले समेत धनगढीमा पानीको आपूर्तिमा समस्या हुने गरेको छ।

धनगढी क्षेत्रका वनहरु, प्राकृतिक ताल तथा पोखरीहरु र नदी–नालाहरु मासिदै गएकाले भूमिगत पानीको सतहसमेत कम हुँदै गएको छ। दिनेश खबरमा प्रकाशित समाचारमा भनिएको छ ‘धनगढी उपमहानगरपालिकाले नाला, नदी, पोखरी तथा तालहरुको संरक्षणका लागि अभियान नै चलाएको छ।’


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार