खानेपानीको सहज उपलब्धताले दैनिकीमै फेरबदल

  वास खबर सम्वाददाता  337 पटक हेरिएको

दैलेख : दैलेखको भैरवी गाँउपालिका–१ रावतकोटका बासिन्दालाई बर्षा लागेर मूल नफुट्दासम्म खानेपानीको अति नै दुःख हुन्थ्यो। पानीको अभाव भएपछि सधैं आकाशेपानीकै भरमा गुजारा चलाउनु पर्थ्यो। बर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका रावतका किसानलाई आजभोलि घरघरमै खानेपानीको सुविधा पुगेपछि त्यो बाध्यता हटेको छ ।

‘हामी लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थियौँ,खानेपानीको ट्याङ्कीमा पानी आएपछि सधैँलाई समस्या समाधान भएको छ’ छामघाट रावतकोट लिफ्टिङ खानेपानी आयोजना भैरवी गाँउपालिका–१का अध्यक्ष खगेन्द्र बहादुर थापाले बताउनुभयो ।

दैनिक एक घण्टा ओरालो झरेर खानेपानी बोक्नुपर्ने बाध्यता अन्त्य भएको उहाँले सुनाउनुभयो। उहाँका अनुसार यो आयोजनाबाट २ सय १८ घरधुरीलाई प्रत्यक्ष रूपमा फाइदा पुगेको छ ।

केही बर्ष पहिला देखि भैरवी गाउँपालिकाको मुख्य बजार डाँडीमा खानेपानी अभाव थियो तर पछिल्लो समयमा लिफ्ट मार्फत खानेपानी आउन थालेपछि स्थानीयवासीमा खुसीयाली छाएको डाँडी माडी लिफ्टिङ खानेपानी योजना भैरवी गाँउपालिका–५का सदस्य गीता कुमारी शाही बताउनुभयो।

गाउँमा खानेपानी सुविधा पुगेपछि बचेको पानीले सिँचाई गर्न समेत पाएको उहाँले बताउनुभयो। यस्तै दैलेखको दुल्लु नगरपालिका– १३ बिनायकमा समेत सोलार लिफ्ट मार्फत घरघरमा खानेपानी पुगेको छ । यसले गर्दा खानेपानी जोहो गर्न लाग्ने समयलाई अन्य आयआर्जनको काममा सदुपयोग गर्न पाएको बिनायकका प्रेम बहादुर भण्डारीले बताउनुभयो।

खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखको आर्थिक सहयोगमा गाउँमा खानेपानी पुगेपछि स्थानीय बासिन्दाले पानीको उपयोग गर्दै तरकारी उत्पादनमा जोड दिन लागेका छन्। खानेपानीको सहज उपलब्धताले गर्दा आफूहरुको दैनिकीमै परिवर्तन आएको गाउँलेहरु बताउँछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार