सिरहा : सिरहाको लहान नगरपालिका स्थित वडा नं. १९, २०, २१ र २२ को बासिन्दाका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय धनुषाले खानेपानी आयोजना निर्माण गर्ने भएको छ। खानेपानी आयोजना निर्माणका लागि सर्भे गर्ने काम सम्पन्न भैसकेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना धनुषाका आयोजना प्रमुख लोकेन्द्र यादवले बताउनुभयो।
‘लहान नगरपालिकाको नगरव्यापी समावेशी सरसफाइ योजना सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी’ मा आयोजना प्रमुख यादवले खानेपानी आयोजना निर्माण गर्न स्थानीय सरकारको भूमिका अहम् हुने बताउनुभयो ।
उहाँले ट्युवेल वितरण गरेर सुरक्षित खानेपानीमा पहुँच नपुग्ने भएकाले ट्युबेल वितरण गर्ने काम बन्द गर्न नगरपालिकाका मेयरलाई समेत आग्रह गर्नुभयो। ‘अब सबैलाई धाराको सुरक्षित पानी खुवाउनुपर्छ, सबैलाई कल बाँडेर शुद्ध खानेपानी खुवाउने लक्ष्य पूरा हुँदैन, कल बाँड्ने काम बन्द गर्नुहोस्’ उहाँले भन्नुभयो।
उक्त गोष्ठीमा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले खानेपानी संस्थान र वाटर एड नेपाल, विकन परियोजना सँग सहकार्य गरी ४ सय विपन्न घरधुरीमा खानेपानीको धारा जडान गरेको उल्लेख गर्दै यस आर्थिक बर्षमा ३ सय विपन्न घरमा धारा जडान गर्ने योजना रहेको बताउनुभयो। नेपाल खानेपानी संस्थान, शाखा कार्यालय लहानले करिब ५ हजार घरपरिवारलाई सुरक्षित खानेपानी सेवा उपलब्ध गराउँदै आएको छ।
उहाँले अबको आवश्यकता डिप बोरिङ नै भएकाले स्यालो ट्युबेल वितरण गर्न बन्द गरिसकेको बताउनुभयो।
कार्यशाला गोष्ठीमा उप प्रमुख राम चलितर महतोले खानेपानीको ट्याङ्की निर्माण भएपनि नगरपालिकाका सबै बासिन्दाले धाराको पानी पिउन नपाएको भन्दै तीनै तहको सरकार मिलेर खानेपानीको राम्रो प्रबन्ध मिलाउनुपर्ने बताउनुभयो। उप प्रमुख महतोले सहयोग लिने वातावरण स्थानीय सरकारले नै बनाउनुपर्नेमा जोड दिदै खानेपानी लगायत नगरपालिका भित्र सञ्चालन हुने जुनसुकै योजना सञ्चालनका लागि पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले खानेपानी योजना निर्माण गरी चाँडो भन्दा चाँडो खानेपानी सेवा उपलब्ध गराउन टेण्डर प्रक्रियामा गएर भटाभट काम थालनी गर्नुपर्ने बताउनुभयो।

केन्द्रिय आयोजना अन्तर्गत ५ वटा खानेपानी योजना
चालु आर्थिक बर्ष २०८१/०८२ मा संघीय तहबाट सिरहा जिल्लामा केन्द्रिय खानेपानी आयोजना अन्तर्गत ५ वटा खानेपानी आयोजना निर्माण हुने भएको छ। ती पाँच वटै खानेपानी आयोजनामा गरी केन्द्रिय खानेपानी आयोजनाले ४ करोड बजेट लगानी गर्ने भएको छ । चालु आर्थिक बर्षको बजेटमा निम्न खानेपानी आयोजनाहरु निर्माण गर्न निम्नानुसार बजेट विनियोजन गरेको छ।