चार बर्षदेखि बन्द रहेको खानेपानी आयोजना पुनः सञ्चालन

  वास खबर सम्वाददाता  685 पटक हेरिएको

घोराही : दाङको बगलाचुली गाउँपालिका–६, ठुलो बचेनी गाउँमा खानेपानीको समस्या समाधान गर्ने गरी २०७३र७४ सालमा खानेपानीको योजना पर्‍यो ।

खानेपानी डिभिजन कार्यालय र स्थानीयको लागत सहभागितामा करिब ३९ लाख खर्च गरेर खानेपानी आयोजना पनि निर्माण भयो । त्यत्तिबेला नजिकैको खोलाबाट सौर्य उर्जाको माध्यमबाट करिब एक किलोमिटर अग्लो ठाउँमा लगेर खानेपानी वितरण गरिएको थियो । गाउँमा खानेपानी सुविधा भएपछि यहाँका बासिन्दामा खुसी छाएको थियो ।

तर खानेपानीको सुविधा तीन वर्षभन्दा बढी चल्न सकेन । आयोजना नचलेको यहाँ खानेपानीको फेरि पीडा सुरु भयो । चार वर्षसम्म यो पीडा सहेका यहाँका बासिन्दाले फेरि खानेपानीको सुविधा पाएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रेवती बुढाले बताउनुभयो । हाल सो आयोजना मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइएको छ ।

खानेपानी योजना पुनः सञ्चालनमा आएपछि सहजता भएको भन्दै अध्यक्ष बुढाले भन्नुभयो, “वर्षौपछि गाउँमा आएको खानेपानी योजना बिग्रेर बन्द हुँदा स्थानीयले पानीका लागि धेरै दुःख झेल्नु परेको थियो । बल्ल यो समस्या हटेको छ ।”

घोराही–मुर्कुटी सडकखण्ड विस्तारका क्रममा जथाभाबी रूपमा जमिन खन्दा खानेपानी आयोजना बन्द भएको थियो तर अहिले सञ्चालनमा आउँदा खुसी लागेको छ ।

चार वर्षदेखि बन्द रहेको खानेपानी आयोजना सञ्चालनका लागि करिब दुई लाख ५० हजार रुपियाँ खर्च भएको बगलाचुली गाउँपालिका–६ का वडा सदस्य हिमाल महरा बताउनुहुन्छ । उहाँका अनुसार खानेपानीको ट्याङ्की मर्मत, नयाँ पाइप विस्तार र विद्युत् जडानलगायतका काम गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार