
धरान : धरान खानेपानी व्यवस्थापन बोर्डले वृद्धि गरेको महसुल/शुल्क खारेज गरी पुरानै दर कायम नगरे सम्मका लागि धरानको ३ वटै महसुल काउन्टरमा आज सोमवार बिहान तालाबन्दी गरेका छन् ।
खानेपानी व्यवस्थापन बोर्डको धरान-१५, धरान-१६ र धरान-११ स्थित बिल काउन्टरमा राजनैतिक दलहरूले तालाबन्दी गरेका हुन। बिहान कार्यालय समय सुरु हुने बित्तिकै ३ वटै कार्यालयमा एकै साथ दलहरूले ताला लगाएका हुन ।
दलहरूले आन्दोलनलाई सम्बोधन गर्दै तुरुन्त वार्ता नभए थप सघर्षको कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् । दलहरूले हिजो आइतबार खानेपानी कार्यालयमा तालाबन्दी गरे लगत्तै विज्ञप्ति जारी गर्दै धरानवासीलाई पुरानै दर कायम नभए सम्म खानेपानीको महसुल नबुझाउन आव्हान गरेको थियो ।
यसैबीच खानेपानीमा वृद्धि गरिएको महशुल, शुल्क खारेजीको आन्दोलनमा रहेका राजनैतिक दलहरूलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले भोली मङ्गलवार बिहान ९ बजे छलफलमा बोलाएको छ ।
खानेपानी व्यवस्थापन बोर्डले वृद्धि गरेको शुल्क, महसुल खारेज गरी पुरानै दर यथावत् राख्न माग गर्दै आन्दोलनरत १० राजनैतिक दलहरूलाई छलफलमा बोलाइएको हो ।


527 पटक हेरिएको 

