पृथ्वी नारायण साना शहरी खानेपानीमा बाढी पस्दा करिब डेढ करोडको क्षति

  वास खबर सम्वाददाता  371 पटक हेरिएको

गोरखा : गोरखाको पृथ्वी नारायण साना शहरी खानेपानी आयोजनाको मुहानमा बाढी पसेको छ । बुधबार रातीको ठूलो वर्षापछि पसेको बाढीले करिब डेढ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको आयोजनाले जनाएको छ ।

सहिदलखन गाउँपालिका ७ छाङ्खोला र ढाक्रेखोला स्थित मुहान क्षेत्रमा आएको बाढीले आयोजनाको मुख्य पाईपमा पूर्ण रुपमा क्षति भएको आयोजनाकी अध्यक्ष सिता खड्काले जानकारी दिनुभयो। ‘करिब ५० मिटर पाईपमा क्षति पुगेको छ, यस्तै एक नंम्बर ट्याङ्की वरिपरि लगाइएको तारेबार, फिल्टर र ट्याङ्कीको बीचमा लगाइएको पर्खाल र पानीको मुहानमा समेत क्षति पुगेको छ’ अध्यक्ष खड्काले भन्नुभयो।

पाईपलाईन मर्मतको काम सम्पन्न नभएसम्म नियमित पानी वितरणमा समस्या हुने उहाँले बताउनुभयो। नियमित रुपमा पानी वितरण नहुँदा १० हजारभन्दा धेरै जनसङख्या प्रभावित हुने आयोजनाको भनाइ छ । तत्कालका लागि भने अस्थायी रुपमा पानी वितरण गर्ने तयारी भइरहेको अध्यक्ष सिता खड्काको भनाइ छ । ‘अस्थायी रुपमा कालो पाईप जडान गरेर पानी वितरण गर्ने तयारी भइरहेको छ’, उहाँले भन्नुभयो ‘२/३ दिन भित्र मर्मत सम्भारको काम सक्ने गरी काम भइरहेको छ ।’

मुहान मर्मतका लागि सहयोग गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागमा समेत पत्रचार गरिएको उहाँले बताउनुभयो।

पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले गोरखा सदरमुकामका १३ सय ८५ घरपरिवारलाई खानेपानी वितरण गर्दै आएको छ । दैनिक १० लाख लिटर खानेपानीको माग छ । पूर्ण क्षमतामा पानी वितरण गर्न भने केही समय लाग्ने अध्यक्ष खण्डकाले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार