हेटौंडा : हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबाट वितरित खानेपानीमा १० हजार लिटर (१० युनिट) सम्मको खपतमा छुट दिने व्यवस्था गरेपछि खानेपानी बोर्डमा हस्तान्तरण हुने उपभोक्ता समिति बढेका छन् । बोर्ड सञ्चालनमा आए देखि हालसम्म १६ वटा उपभोक्ता समितिहरु बोर्डमा हस्तान्तरण भैसकेको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिनुभयो।
हेटौंडा उपमहानगरपालिकाले नगरबासीहरुलाई राहत दिने उद्देश्यले न्यूनतम खानेपानी महसुलमा १० हजार लिटर सम्मको खपतमा छुटको व्यवस्था गरेको हो । आर्थिक बर्ष २०८०/०८१ को प्रगति विवरण तथा आ.व. २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेटबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष विष्टले गत आर्थिक बर्षमा मात्र वडा नंं. १८ को मौडी खोला, वडा नं.१५ को शिखरपानी, वडा नं. १६ को शक्तिखोला, वडा नं. १४ को टसिलिङ र वडा नं. १७ को राजदेवी खानेपानी उपभोक्ता समिति र त्यस अन्तर्गत रहेको २ हजार ३२५ धारा सहित संचालित खानेपानीको पूर्वाधारहरु बोर्डमा हस्तान्तरण भएको बताउनुभयो।
बोर्डले स्थानीय उपभोक्ताहरुबाट सञ्चालित खानेपानी योजनालाई बोर्डमा हस्तान्तरण गर्ने कार्यलाई चालु आर्थिक बर्षमा पनि निरन्तरता दिने बोर्डका आर्थिक प्रशासन प्रमुख एवं सूचना अधिकारी सञ्जय न्यौपानेले जानकारी दिनुभयो। उहाँले खानेपानी योजनाहरुलाई बोर्डमा हस्तान्तरण गर्ने र स्वच्छ, सुपथ शुल्कमा खानेपानी उपलब्ध गराउन प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिने चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा समेत समेटिएको बताउनुभयो।
मकवानपुर सदरमुकाम हेटौंडामा २०७० साल जेठ ८ गतेदेखि हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले खानेपानी व्यवस्थापन गर्दै आएको छ। बोर्डले हाल वडा नंं. १ देखि १९ मध्ये वडा नं. २, ४, ५, ६, ७, ८, ९, १० र १४ को पुरै भु-भाग, वडा नंं १, ३ र १७ को केही भु-भाग र वडा नंं. १५, १६, १८ र १९ को ७० प्रतिशत भु-भागमा बसोबास गर्ने १ लाख ६० हजार नगरबासीलाई खानेपानी वितरण गर्दै आएको छ ।
बोर्डले हेटौंडाको मुख्य नगरक्षेत्रभित्र भने २४ सैं घण्टा पानी वितरण गर्दै आएको छ । हेटौंडा उपमहानगरपालिकाको वडा नं. ११, १२ र १३ मा भने उपभोक्ता समितिहरुले खानेपानीको सेवा प्रवाह गर्दै आईरहेको छ ।
बोर्डले आफ्नो सेवा क्षेत्रभित्र २७ हजार ७ सय २१ वटा धारा मार्फत दैनिक ३ करोड ५७ लाख लिटर खानेपानी उत्पादन तथा प्रशोधन गरी वितरण गर्दै आएको छ।
नगर क्षेत्रको वडा नं. १ देखि १९ सम्मका नगरबासीलाई स्वच्छ, सर्वसुलभ र गुणस्तरीय खानेपानी एउटै महशुलमा खानेपानी गराउने हेटौडा खानेपानी व्यवस्थापन बोर्डको एक मात्र उद्देश्य रहेको बोर्ड अध्यक्ष विष्टले बताउनुभयो।