
जाजरकोट : जाजरकोट सदरमुकाम खलङ्गामा बिजुलीको तारमा खानेपानीको पाइप राखिएको छ । भेरी नगरपालिका–४ स्थित नेपाल बैङ्क लिमिटेड अगाडि सर्वसाधारणले खानेपानीको पाइप बिजुलीको तारमा डोरीले बाँधेर घर घरमा पानी ल्याएका छन् । नेपाल विद्युत् प्राधिकरण तथा सरोकारवाला निकायको बेवास्ताका कारण यस्तो समस्या भएको हो ।
विद्युत् प्रवाह भइरहेको पोलबाट तारमा बाँधेर घरमा पानी ल्याउनु ठुलो जोखिम निम्त्याउनु हो तर सरोकारवाला निकायले यो देखेको छैन । यस कारण बजार क्षेत्रमा जोखिम बढेको छ । जमिनमुनिबाट ल्याउने खानेपानी पाइप बिजुलीको तार हुँदै ल्याउँदा सर्वसाधारण हिँडडुल गर्नसमेत जोखिम बढेको छ भने करेन्ट लागेर दुर्घटना हुन सक्ने देखिएको छ ।
भेरी नगरपालिका–४ का दीपबहादुर सिंहका अनुसार बिजुलीको पोलमा खानेपानीका पाइप बाँधेर सर्वसाधारणले घरमा पानी ल्याउँदा पनि न विद्युत् प्राधिकरणले हेर्छ न अरू सरकारी सरोकारवाला निकायले हेर्न सकेको छ । केही दिनअघि विद्युत्को पोल छोएपछि करेन्ट लागेको भन्दै ती पोलमा खानेपानीको पाइप झुन्ड्याउँदा करेन्ट प्रवाह हुन सक्ने उहाँको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, विभिन्न सरकारी कार्यालय रहेको भेरी नगरपालिका–४ को व्यापारिक केन्द्र रहेको गैरीखालीदेखि तारमा बाँधेर पानी ल्याएको देखे पनि सरोकारवाला निकायले नदेखेको झैँ गरेका छन् ।
स्थानीय मित्रगणेश श्रेष्ठले नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क जस्ता सार्वजनिक संस्था रहेको स्थानमा करेन्ट प्रवाह भइरहेको विद्युत् पोलको तारमा खानेपानीको पाइप ल्याएपछि विद्युत् सट भएको खण्डमा धेरै क्षति हुन सक्ने बताउनुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणलाई तत्काल बजार क्षेत्रका पोलको अनुगमन गरी पोलमा झुन्ड्याइएका खानेपानीका पाइप हटाउनुपर्ने मागसमेत राख्नुभयो । यो खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जाजरकोटका निमित्त प्रमुख योगेन्द्र झाले विद्युत्का पोल तथा तारमा खानेपानीका पाइपलगायत अनावश्यक वस्तु जथाभाबी नराख्न सुझाव दिए पनि सर्वसाधारणले अटेर गरेको बताउनुभयो ।


469 पटक हेरिएको 

