एक घर एक धारा अभियान: प्रति घर लागत झण्डै १ लाख २५ हजार

  वास खबर सम्वाददाता  334 पटक हेरिएको

तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–६ मा मा खानेपानी पुर्‍याउन प्रति घर झण्डै १ लाख २५ हजार रुपैयाँ खर्च भएको छ । गाउँपालिकाले ‘एक घर, एक धारा’ अभियान अन्तर्गत तीनवटा खानेपानी आयोजना सम्पन्न गर्दा प्रति घर १ लाख २३ हजार ४३७ रुपैयाँ परेको हो ।

गाउँपालिकाका अनुसार ६४ घर परिवारलाई खानेपानी सुविधा पुर्‍याउन गत आर्थिक बर्षमा गण्डकी प्रदेश सरकारबाट दुई र सङ्घीय सरकारबाट एउटा खानेपानी आयोजना सम्पन्न भएको हो। गण्डकी प्रदेशले खहरे गाउँपाखोमा ६० लाख, खहरे थुमथुमेमा नौ लाख र सङ्घीय सरकारले १० लाखमा खहरे झपार्दी खानेपानी आयोजना मार्फत एक घर, एक धारा जडान गरेको बन्दीपुर–६ का वडाध्यक्ष बलबहादुर गुरुङले जानकारी दिनुभयो।

गत आर्थिक वर्षको अन्त्यभित्र योजना सम्पन्न गरी घर घरमा पानी पु¥याइएको खहरे गाउँपाखो खानेपानी उपभोक्ता समितिका अध्यक्ष देवबहादुर गुरुङले जानकारी दिनुभयो। उहाँका अनुसार योजना सम्पन्न पश्चात् वर्षैँदेखि पाँखाको तातो, नमीठो र चुनायुक्त पानी पिउनुपर्ने बाध्यता अन्त्य भएको छ।

‘चुनाका कारण कतिपय अवस्थामा पानीको पाइप जाम हुने समस्या खेप्नुपरेको थियो’, अध्यक्ष गुरुङले भन्नुभयो ‘करिब दुई महिनाको अवधिमा आयोजना सम्पन्न गरी पानी नियमित सञ्चालन गरेका छौँ।’

तीनमध्ये ठूलो आयोजनाका रुपमा रहेको खहरे गाउँपाखोका लागि छिमेकी देवघाट–३ नाल्बुङबाट पानी ल्याएर वितरण गरिएको उहाँले जानकारी दिनुभयो।
लामो समयदेखि खानेपानीको समस्या खेप्दै आएका वडाबासीले स्वच्छ पानी पिउन पाउँदा खुशी व्यक्त गरेका छन्।

अहिले घर घरमा धारा जडान गरेपछि गाग्री बोकेर पानी लिन जानुपर्ने समस्या हटेको झपार्दी खानेपानी उपभोक्ता समितिका अध्यक्ष जीतबहादुर थापाले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार