धरानका जनप्रतिनिधिले गराए खानेपानी, सडक लगायत विषयमा मन्त्रीको ध्यानाकर्षण

  वास खबर सम्वाददाता  241 पटक हेरिएको

काठमाडौं : सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर एकका जनप्रतिनिधि सहितको टोलीले धरानको खानेपानी, सडक, भौतिक पूर्वाधार, विपद लगायत जनसरोकारका विषयमा मन्त्रालयहरुको ध्यानाकर्षण गराएको छ।

मंगलबार सिंहदरबार स्थित खानेपानी मन्त्री प्रदिप यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई भेटेर धरानको तत्कालीन र दिर्घकालीन समस्या समाधान र विकासका बारेमा ध्यानाकर्षण गराइएको हो।

टोलीले गत भाद्रको वर्षाका कारण धरान १३ स्थित गौरामार्ग खानेपानी संरचनामा ४० लाख बराबरको क्षति भएको, धरान वडा नम्बर ४ को सेर्केदेखि शिवधारासम्मको २७ सय मिटर दुरीमा विछ्याइएको ६३ एमएमको सम्पूर्ण पाइपहरु ध्वस्त बनाइएकोले तत्काल त्यसको मर्मत सम्भारका लागि खानेपानी मन्त्री प्रदिप यादवसँग आग्रह गरेको थियो । मन्त्री यादवले क्षतिको सर्भे र लागत विवरणका आधारमा क्रमिक रुपमा कार्तिक सम्ममा मर्मत गरिने आश्वासन व्यक्त गर्नुभयो।

यस्तै भौतिक पूर्वाधार मन्त्रीसँग गत भदौ १३ र १७ को भिषण वर्षाका कारण कोशी राजमार्ग र धरानका वडा नम्बर १३ लाई पुर्‍याएको भौतिक पूर्वाधारको क्षतिको पुननिर्माण, मदन भण्डारी राजमार्ग अन्तर्गत धरान ८ स्थित तीनढ्वाँगेको भत्किीएको पुल र सडक चाडो निर्माण राजमार्गमा पर्ने वनसंगको कटान आदेश चाँडै गरेर काम सम्पन्न गर्नुपर्ने, धरानको सर्दु खोलादेखि बराहक्षेत्रको झण्डा चोकसम्मको बाटोका लागि वातावरण प्रभाव मुल्यांकन चाडो गरि निर्माण प्रकृयामा लानु पर्ने, कोशी राजमार्गको निशानेमा गएको पहिरो, सारंगाको सडक भासिएकाले तत्काल निर्माण सम्पन्न गर्नुपर्ने, विभिन्न स्थानहरुमा बाढीले क्षति पुर्‍याएको कल्भर्ट पुन: निर्माण गर्नुपर्ने, धरान इटहरी सडक खण्डको सेउतीखोलाको पुल तत्काल निर्माण सम्पन्न गर्दै सेउती तरहरा सडक खण्डको ५.३ किलोमिटर दुबै तर्फि सडक चाँडै सम्पन्न गर्न मन्त्री दाहाललाई ध्यानाकर्षण गराईको छ ।

धरानबाट काठमाण्डौं आएको टोलीमा प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री अशोक राई, प्रतिनिधिसभा सदस्य शुशीला श्रेष्ठ, कोशी प्रदेशसभा सदस्यहरु विजय राई र रमेश बस्नेत, धरान वडा नम्बर १३ का अध्यक्ष नेत्रप्रसाद काफ्ले, नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा मजदुर नेता भीमज्वाला राई, धरान १३ जग्गा फुकुवा तथा सिमांङ्कन पहल समितिका संयोजक हरी कार्की, धरान १३ का स्थानीय समाजसेवी टिका राई र जसपा नेता भीम राई हुनुहुन्छ।

त्यस्तै सर्दु जलाधार जग्गा संरक्षणका नाममा मिति २०७८ साल पुस १५ गतेदेखि रोक्का गरिएको जग्गाको ४ सय ७ विघा जग्गाभीत्र परेका साविक बाँझगरा ९ (क) र साविक घोपा ७ (घ) र (ङ) को जग्गा फुकुवा गर्न पहल गरिदिन भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई टोलीका तर्फबाट आग्रह गरिएको छ ।

धरान १३ नम्बर वडावासीको निजी जग्गा समेत जलाधारका नाममा रोक्का गरिँदा करिव ३ हजार घरपरिवार समस्यामा परेको कुरा पहल समितिका संयोजक हरी कार्किले मन्त्री अधिकारीलाई जानकारी गराउँदै यसलाई फुकुवा गरिदिन आग्रह गरिएको थियो ।

प्रतिनिधिमण्डलको आग्रहपछि मन्त्री अधिकारीले पुराना कानुनहरुका कारण जनताले पीडा खेप्नु परेको भन्दै यसलाई विस्तारै समाधान गर्दै जाने बताएका थिए।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार