तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–६ मा दूषित पानी खानुपर्ने तथा पानी लिन घण्टौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । शुद्ध र सफा खानेपानी घर घरमा पाउँदा गाउँका बासिन्दा खुसी भएका छन् । गाउँपाखो खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएसँगै गाउँमा दूषित पानीको समस्या समाधान भएको हो ।
आयोजनाले उक्त वडाका खहरे, फिर्कीडाँडा, थुमथुमे, झापर्दी गाउँका ६२ घरमा धारा जडान गरेको छ । एक घर एक धारा जडान गरिएपछि बर्सौंदेखि काकाकुलको जीवन गुजारेका स्थानीयलाई सहज भएको छ । खहरेकी फूलिमाया गुरुङले मादीसेती नदी तथा खहरे खोलाको धमिलो पानी वर्षायाममा खानुपर्ने बाध्यता हटेको बताउनुभयो ।
गुरुङले भन्नुभयो, “पानी परेको बेला खोला तथा नदीको धमिलो भएका बेला नजिक खानेपानी नहुँदा त्यही धमिलो पानी खानुपर्ने बाध्यता थियो, अहिले घरमै सफा धारा आउँदा निकै खुसी लागेको छ ।” सोही ठाउँकी दिलमाया गुरुङ गाउँमा मूलको पानी नहुँदा दूषित पानी खानुपर्ने मात्रै नभई एक जनाको काम नै पानी बोक्नुपर्ने बाध्यता हटेको बताउनुभयो । साथै उहाँले विगतमा गाउँमा दूषित पानीकै कारण झाडापखाला फैलिने गरेकोमा सफा पानी पाउँदा सबै जना खुसी भएको बताउनुभयो ।
आयोजनाका संयोजक सिद्धान्त थापामगरले खानेपानीको धेरै दुःख भएकाले बसाइँसराइ गरी गाउँ रित्तिने क्रम बढ्न थालेपछि योजना पार्न धेरै दौडधुप गर्नु परेको बताउनुभयो ।
दुई महिनामै योजना सम्पन्न गरी चौबिसै घण्टा धारामा पानी आउने गरी एक घर एक धारा वितरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पाँच किलोमिटर टाढा रहेको देवघाट गाउँपालिका–३ को पौवा खोलाको पानी ल्याएर दुई महिनामै योजना सम्पन्न गरिएको हो ।
आयोजनाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले हरेक नेपालीलाई शुद्ध खानेपानीको पहुँच पुर्याउने नेपाल सरकारको लक्ष्य भए अनुरूप यहाँ खानेपानीको सुविधा पु¥याउन सक्दा खुसी लागेको बताउनुभएको खबर गोरखापत्र दैनिकमा प्रकाशित छ। साथै अध्यक्ष थापाले गाउँपालिकाले यहाँको खानेपानीको समस्या समाधानका लागि पहिलो प्राथमिकतामा राखेर सिफारिस गरेकाले गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेकोसमेत जानकारी दिनुभयो ।