बाढी पहिरोले नदी किनारका सम्पवेल डुबे, क्षतिको विवरण उपलब्ध गराउन खानेपानी विभागको आग्रह

  वास खबर सम्वाददाता  471 पटक हेरिएको


काठमाडौ : हिजो र अस्ति देशभर परेको अविरल बर्षापछि आएको बाढी पहिरोले नदी किनारमा बनेका लिप्टिङ खानेपानी आयोजनाका सम्पवेलहरु डुबेका छन्। प्राप्त विवरण अनुसार पाँचथरको तुम्बेवा गाउँपालिका १ स्थित तमोर नदीको किनारमा रहेको आङ्नामौवा लिप्टिङको खानेपानी आयोजनाको सम्पवेल डुबेको छ ।

यस्तै काभ्रे जिल्लाको दाप्चा काशिखण्ड खानेपानी आयोजनाको मुहान र तिमाल खानेपानी आयोजनाको मुहान एवं फिल्टर युनिट रहेको स्थान बाढीले छोपेको खबर छ ।

सिन्धुलीको नाङगेडाँडा खानेपानीको सम्पवेलमा पनि क्षति पुगेको बिवरण प्राप्त भएको छ।

यस्तै बेनीघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापन बोर्ड मार्फत सञ्चालन तथा व्यवस्थापन हुँदै आएका २७ वटा खानेपानी योजनाहरु मध्ये करिब २० वटा खानेपानी योजनामा क्षति पुगेको छ । खानेपानी संरचनामा बाढीले क्षति पुर्‍याउँदा खानेपानी सेवा प्रभावित भएको र कम जोखिम भएका स्थानमा मर्मत सम्भारको काम भैरहेको बोर्डका कार्यकारी निर्देशक अर्चिता उप्रेती श्रेष्ठले जानकारी गराउनुभयो।

खानेपानी तथा ढल व्यवस्थापन विभागले बाढीका कारण खानेपानी आयोजनाको संरचनाहरुमा क्षति भएको भए सोको विवरण यथाशीघ्र पठाउन देशै भरिका संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय र खानेपानी उपभोक्ता समितिहरुलाई जानकारी गराएको छ।

लिप्टिङ खानेपानी आयोजनाका सम्पवेलहरु प्राविधिक हिसाबले नदी किनारमै बनाउनु पर्ने भएकाले नदी किनारमै बनाईएका हुन्छन् । त्यस्ता संरचना सामान्य बाढीले क्षति नपुग्ने हिसाबले बनाएको भए पनि यस पटक ठूलो बाढी आएकाले क्षति बढेको हुनसक्ने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.रामकुमार श्रेष्ठले बताउनुभयो। ‘हामी देशैभरिबाट क्षतिको विवरण संकलन गर्दैछौं, बर्षा अझै कायमै रहेकाले एकिन विवरण आउन अझै केही दिन लाग्न सक्छ’ उहाँले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार