
काठमाडौं : सिन्धुली जिल्लामा बाढी पहिरोका कारणले क्षतिग्रस्त खानेपानी संरचनाको नेपाल रेडक्रस सोसाईटीले मर्मत सम्भार गर्ने भएको छ। बाढी पहिरोका कारण खानेपानीको समस्या देखिएको र खानेपानीको समस्या समाधानको लागि तत्काल काम गर्ने रेडक्रस सोसाईटी सिन्धुली जिल्ला शाखाका सभापति अशोक श्रेष्ठले बताउनुभयो ।
बाढी पहिरोले बगाएका खानेपानीका ट्याङ्की मर्मत, क्षति भएको पाइप व्यवस्थापन तथा इनार सरसफाइ लगाएका काम गरिने उहाँले बताउनुभयो। ‘यसको लागि प्राविधिक अध्ययनको काम सुरु गरिएकोछ, प्राविधिक प्रतिवेदन आएपछि खानेपानी योजना मर्मतको काम तत्काल सुरु गरिने छ’ श्रेष्ठले भन्नुभयो।
बाढी प्रभावित रोशी र सुनकोशी क्षेत्रमा नेपाल रेडक्रसले राहत वितरणको काम पनि सँगसँगै गरिरहेको छ। गत असोज ११ र १२ गतेको वर्षाले आएको बाढी, पहिरोबाट सिन्धुलीको सुनकोशी गाउँपालिकामा २ सय २५ बढी घरधुरी पूर्णरुपमा क्षति भएको नेपाल रेडक्रस सोसाईटी सिन्धुली जिल्ला शाखाका सभापति श्रेष्ठले बताउनुभयो । ती घर परिवारलाई पहिलो चरणको राहत सामाग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
रोशी र सुनकोशी किनारका सुनकोशी र गोलञ्जोर गाउँपालिकाका प्रभावितलाई दोस्रो चरणको राहत वितरणको काम पनि भइरहेको श्रेष्ठले जानकारी दिनुभयो। अब दुईवटै गाउँपालिकामा क्षतिको विस्तृत लेखाजोखा गरेर त्यसको विश्लेषण गरी थप कार्यक्रम अघि बढाउने उहाँले बताउनुभयो । ‘यसको लागि काम सुरु भइसकेको छ’ उहाँले भन्नुभयो।


462 पटक हेरिएको 

