५४ सालमा सुरु भएको खानेपानी योजना अझै अधुरै

  वास खबर सम्वाददाता  128 पटक हेरिएको

सप्तरी : सत्ताइस वर्षदेखि खानेपानी निर्माणको योजना अधुरै रहँदा यहाँका नागरिक शुद्ध खानेपानीबाट बञ्चित भएका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ स्थित हनुमानगर बजारमा २७ वर्ष अगाडि नै निर्माण सुरु गएको खानेपानी आयोजना अहिलेसम्म पनि पूरा हुन सकेको छैन ।

स्थानीय स्वास्थ्यचौकी परिसरमा २०५४ सालमा निर्माण थालिएको खानेपानी योजना हालसम्म पिउने पानी योग्य बन्न नसकेको स्थानीयले बताएका छन् । तत्कालीन हनुमानगर गाउँ विकास समितिको पहलमा आयोजना सुरु गरिएको थियो । हनुमाननगर कंकालिनी नगरपालिका–७ का अमन यादवले खानेपानी आयोजना पूरा नहुँदा करिब दश हजार भन्दा बढी जनता प्रभावित भएको बताउनुभयो ।

हनुमाननगर कंकालिनी नगरपालिकाले पनि यसप्रति कहिले पनि चासो नदिएको नेपाली कांग्रेसका प्रदेश सचिव समेत रहेका बेचन खड्काले बताउनुभयो। स्थानीय राजेन्द्र मिश्रले खानेपानी ट्यांकी निर्माण ७५ प्रतिशत भए पनि राजनीतिक खिचातानीले काम पूरा हुन नसकेको बताउनुभयो । ‘पानी ट्यांकी निर्माण गरी पाइपलाइन विच्छ्याउने काम अधुरै छ, नगरवासी ट्युवेलको आइरनयुक्त पानी खान बाध्य छन्’ उहाँले भन्नुभयो। आयोजना तीन करोडको लागतमा निर्माण सुरु भएको थियो ।

आयोजनाको काम अधुरै भएपछि दोस्रो पटक २०७४ सालमा बोलपत्र आह्वान गरिएको थियो । तत्कालीन समयमा शान्ति निर्माण सेवा फर्सेठले निर्माणको जिम्मा पाएको थियो । फर्सेठका सञ्चालक नारायण यादवले आफूहरूले १३ लाख भुक्तनी नपाएपछि काम रोकिएको बताउनुभयो।

कोशीको तटीय क्षेत्रमा पर्ने हनुमाननगर कंकालिनी नगरपालिकामा १४ वटा वडा छन् । नगरपालिका उत्तरमा पूर्व–पश्चिम राजमार्गसँग जोडिएको छ भने दक्षिणतर्फ भारतीय सिमानासम्म फैलिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार