खानेपानी सबडिभिजन कार्यालय पुनःस्थापना

  वास खबर सम्बाददाता  201 पटक हेरिएको

दोलखा : दोलखामा पुनः खानेपानी सबडिभिजन कार्यालयको स्थापना भएको छ। संघीयतापछि दोलखा जिल्लामा रहेको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय रामेछाप जिल्लामा सरेको थियो। खानेपानीको कार्यालय रामेछाप सरेपछि दोलखाली जनताले धेरै सास्ती खेप्नु परेको थियो। नागरिक समाजले खबरदारी गरे पनि कार्यालयमा तालाबन्दी गरे पनि खानेपानीको कार्यालय फिर्ता गर्न नसक्दा दोलखाली जनता निराश भएका थिए।

खानेपानी सेवालाई थप प्रभावकारी बनाउन, दोलखा जिल्लावासीको समग्र स्वास्थ्य स्थिति र आर्थिक अवस्थामा सुधार ल्याइ जिल्लाको विकास एवम् समृद्धिमा योगदान पुग्ने विश्वासले बागमती प्रदेश सरकारले दोलखा जिल्लामा नै खानेपानी तथा सरसफाई सबडिभिजन कार्यालय पुनः स्थापना गरेको बागमती प्रदेश सरकार आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बताउनुभयो।

शनिबार खानेपानी सबडिभिजन कार्यालय दोलखाको उद्घाटन गर्दै मन्त्री काफ्लेले भन्नुभयो ‘खानेपानी मौलिक हक हो। सबै जनतामा यसको सहज पहुँच हुनुपर्छ। बागमती प्रदेशको आय स्रोत कम छ। कम खर्चमा बढी प्रभावकारिता देखाउनु र संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको कार्य खानेपानी सबडिभिजन कार्यालय दोलखाले गर्नुपर्छ।’

पानी छ पाइप छ तर व्यवस्थापन राम्रोसँग हुन नसक्दा खानेपानीको सास्ती खेप्नुपरेको हो। खानेपानी सबडिभिजन कार्यालय दोलखाले संघीयताको नमुना देखाउनपर्ने वा सेवाग्राहीहरूलाई नजिकबाट खानेपानी सम्बन्धी सेवा प्रवाह गर्नुपर्ने खानेपानी सेवालाई थप प्रभावकारी बनाउनुपर्ने दोलखाली जनताको माग रहेको छ।

भूकम्प र बाढीपहिरो जस्ता दैवीप्रकोप तथा जलवायु परिवर्तनका कारण खानेपानी आयोजनाहरूमा समस्या बढ्दै गएको छ। समस्या बढे अनुसार सम्बोधनका लागि योजना र बजेट नहुँदा खानेपानी सम्बन्धी व्यवस्थापन हुन सकेको छैन।

बागमती प्रदेश सरकार मन्त्रिपरिषदको गत असोज १९ गतेको निर्णय बमोजिम खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय अन्तर्गत दोलखा जिल्लामा छुट्टै खानेपानीको सबडिभिजन कार्यालय स्थापना गरिएको बागमती प्रदेश सचिव मोहनकुमार शाक्यले बताउनुभयो। दोलखामा खानेपानीको सबडिभिजन कार्यालय स्थापना भएपछि खानेपानी क्षेत्रको बजेटमा वृद्धि हुने र खानेपानी सम्बन्धी समस्या समाधानमा सहयोग हुने अपेक्षा रहेको पनि बताउनुभयो। ‘यस कार्यालयको स्थापनाले दोलखाबासीको सम्पूर्ण घरधुरीमा खानेपानी सेवा प्रदान गर्न सरकारले राखेको ‘एक घर एक धारा’ लक्ष्यलाई छिट्टै पूरा हुनेछ’ उहाँले भन्नुभयो।

प्रदेश सरकारबाट विनियोजित खानेपानी र सरसफाई सम्बन्धी योजनाका लागि अब दोलखा जिल्लाका जनताहरू रामेछाप जिल्लाको खानेपानी डिभिजन कार्यालयमा जानुपर्ने झन्झटको अन्त्य भएको र आइतबारबाट दोलखा जिल्ला सबडिभिजन कार्यालयबाटै सम्पूर्ण कार्य सम्पादन हुने दोलखाका खानेपानी सबडिभिजन प्रमुख विजयकुमार यादवले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार