भारतको बाटो हुँदै प्राविधिक टोली छाङरु पुग्यो, खानेपानी पुर्‍याउन स्थलगत अध्ययन

  वास खबर सम्बाददाता  155 पटक हेरिएको

बैतडी : दार्चुलाको छाङरुमा खानेपानी पुर्‍याउन प्राविधिक टोली भारतको बाटो हुँदै स्थलगत अध्ययन सकेर फर्किएको छ । सौका समुदायको बसोबास रहेको छाङरुमा खानेपानी पुर्‍याउन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीको प्राविधिक टोली अध्ययन सकेर फर्किएको हो।

छाङरु पुग्न भारतको बाटो प्रयोग गर्नु बाहेक अरु विकल्प छैन । दुम्लिङबाट छाङरु र तिंकरसम्म कुनै गाउँ छैन। स्थानीयका अनुसार दार्चुला सदरमुकाम खलंगाबाट नेपाली बाटो भएर छाङरु र तिंकर पुग्न बाटो कठिन छ। खलंगाबाट करिब ३ दिन पैदलको जोखिमपूर्ण पैदलयात्रामा छाङरु र तिंकर पुगिन्छ।

दार्चुलाको व्यास गाउँपालिका–१, छाङरुमा खानेपानी पुर्‍याउन सम्भाव्यता अध्ययन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख इन्जिनियर गोविन्द देवकोटाले बताउनुभयो । प्रदेश सरकारको आर्थिक सहयोगमा छाङरुमा रहेका करिब ११० घरधुरीमा खानेपानी पुर्‍याउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

समुद्री सतहबाट तीन हजार २१५ मिटर उचाइमा रहेको छाङरुमा टिङ्कर खोलाको मुहानबाट सौर्य ऊर्जाबाट पानी तान्ने योजना अघि बढेको देवकोटाले बताउनुभयो । छाङरुमा बिजुली बत्ती र बाटो नपुगेकाले योजनाको लागत बढ्न सक्ने बताइएको छ । “खानेपानीको स्थलगत अध्ययन गर्न बैतडीबाट दार्चुला सदरमुकाम हुँदै भारतको धार्चुला भएर महाकाली नदीको पुल तरेर छाङरु पुग्यौँ ।” डिभिजन कार्यालय प्रमुख देवकोटाले भन्नुभयो।

यस अघि २०७८ साल मंसिरमा तिंकर र छाङरुको जनगणना गर्न गएको गणकको टोली भारतीय प्रशासनले बाटो प्रयोग गर्न अनुमति नदिएपछि बीच बाटैबाट फर्किएको थियो ।

अध्ययन टोली छाङरु पुग्दा अधिकांश परिवार जाडो छल्न दार्चुला खलङ्गा झर्ने तयारी गरिरहेको देवकोटाले बताउनुभयो। स्थानीय प्रकाश बोहराले छाङरुमा खानेपानीको योजना लागु हुने भएपछि खुसी लागेको बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले बैतडी र दार्चुलामा खानेपानीका योजना निर्माण गर्दै आइरहेको छ ।

कार्यालयमार्फत चालु आव २०८१/८२ मा मर्मत सहित २९० योजना कार्यान्वयनमा रहेका छन् । दार्चुलामा मात्रै गत वर्षसम्म ३० वटा योजना पूरा भएका छन् । यस्तै चालु आर्थिक वर्षमा ७९ योजना सञ्चालनमा रहेका छन् । यो वर्ष छाङरुमा खानेपानी पुर्‍याउन विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने बजेट रहेको कार्यालय प्रमुख देवकोटाले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार