एडिबीको ऋणमा बनिरहेको फोहोर व्यवस्थापन केन्द्रको काम अन्तिम चरणमा

  वास खबर सम्बाददाता  281 पटक हेरिएको

धनगढी : कैलालीको गोदावरी नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा गोदावरी नगरपालिका–३ चौकीडाँडामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको हो । केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका इन्जिनियर अशोक पाण्डेयले जानकारी दिनुभयो । उहाँले अबको दुई हप्ताभित्रै केन्द्रमा फोहोरमैला व्यवस्थापनको काम सुरु हुने बताउनुभयो ।

सहरी विकास कार्यालयमा सञ्चालन योजना पठाएको जानकारी दिँदै इन्जिनियर पाण्डेयले भन्नुभयो, “त्यो स्वीकृत भएपछि फोहोरमैला व्यवस्थापनको काम सुरु हुन्छ ।” क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत निर्माण भइरहेको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्य चीनको सिचुवान प्रोभेन्सी जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्स कम्पनीले गरिरहेको छ ।

सो कम्पनीले फोहोरमैला व्यवस्थापन केन्द्रका लागि आवश्यक पर्ने सवारीसाधनसहित विभिन्न उपकरण ल्याइसकेको छ । कम्पनीले तीन वर्षसम्म आफैँ फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालन गरेर गोदावरी नगरपालिकालाई हस्तान्तरण गर्ने जनाइएको छ ।

एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रमा ठोस र दिसाजन्य फोहोरमैला दैनिक १३/१३ मेट्रिक टन व्यवस्थापन गर्न सकिने छ । दिसाजन्य फोहोरमैला व्यवस्थापनका लागि आठ र पाँच घनमिटरका दुई वटा सेड निर्माण गरेको कम्पनीले जानकारी दिएको छ ।

कुहिने फोहोरमैलाबाट कम्पोस्ट मल बनाइने इन्जिनियर पाण्डेयले बताउनुभयो । यसै गरी नकुहिने फोहोरमैलालाई वर्गीकरण गरेर बिक्री गर्ने उल्लेख गर्नुभयो । कुनै पनि काम नलाग्ने फोहोरमैलालाई भने ल्यान्डफिल सेलमा जम्मा गरेर व्यवस्थापन गर्ने जनाइएको छ । कुहिने फोहोरमैलाबाट छ हप्ताभित्र कम्पोस्ट मल तयार पारेर बिक्री गर्न सकिने इन्जिनियर पाण्डेयले बताउनुभयो ।

५१ करोड ६९ लाख ७४ हजार रुपियाँ लागतमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो । यसमा एडिबीको ७५ प्रतिशत ऋण अनुदान र नेपाल सरकारको २५ प्रतिशत लगानी रहेको छ ।

सन् २०२२ मा यस फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको ठेक्का भएको थियो । केन्द्र निर्माण क्षेत्रमा पर्ने रुख कटान आदेश प्राप्तिमा ढिलाइ हुँदा निर्माणको काम केही महिना ढिलो गरेर सुरु भएको थियो । यहाँ फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि एक हजार रुख कटान गर्नु परेको थियो । यो फोहोरमैला व्यवस्थापन केन्द्र ३० वर्षसम्मका लागि बनाइएको छ ।

क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत गोदावरीसहित सुदूरपश्चिमको चार पालिकामा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुनेछ । यो खबर आजको गोरखापत्र दैनिकले प्रकाशन गरेको छ। कैलालीको धनगढी उपमहानगरपालिका, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र भीमदत्त नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुन अझै बाँकी रहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार