वास क्षेत्रमा अपाङ्गता भएका व्यक्तिको पहुँच बढाउन कस्तो संरचना हुनुपर्छ ? के छ कानुनी व्यवस्था ?

  वास खबर सम्बाददाता  204 पटक हेरिएको


काठमाडौ : पछिल्ला समय समावेशी खानेपानी र सरसफाइ सुविधाको बहस धेरै हुने गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुमा समेत खानेपानी, सरसफाइ र स्वच्छताको समान पहुँच पुर्‍याउन नसक्दा सम्म समावेशी खानेपानी र सरसफाइको कुरा अधुरै हुन्छ ।

त्यसो त अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना निर्माण गर्न निर्देशिका नै जारी गरी कार्यान्वयनमा छ । यद्यपि अहिलेसम्म अपाङ्गतामैत्री संरचना भनेर बनाइएका भौतिक संरचनाहरु अपाङ्गतामैत्री हुन नसकेका आवाज पनि उठ्न थालेको छ ।

अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ ले खानेपानीको धारा देखि शौचालय निर्माण गर्दा हुनुपर्ने मापदण्ड तोकेको छ । नेपाल सरकार मन्त्रिपरिषदको मिति २०६९ चैत्र ६ गतेको बैठकबाट स्वीकृत निर्देशिका अनुसार निम्न मापदण्ड पु¥याएर मात्र बनाउनुपर्ने उल्लेख छ ।

पानीको धारा 

सार्वजनिक धारा निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिको पहुँचयुक्त बनाउन देहायको मापदण्ड अपनाउनु पर्नेछ ।

(क) सार्वजनिक स्थलमा वनाइने खुला धाराको हकमा ह्वीलचेयरमा वसेर पानीको धारा प्रयोग गर्नको लागि ह्वीलचियरले टेकेको सतहबाट धाराको टुटी ९क्उयगत० सम्मको उचाई बढीमा ३० देखि ३६ इन्चसम्मको हुनु पर्नेछ ।

(ख) धाराको पानी सिधै भुर्इँमा झर्ने गरी बनाइएको धारामा पानी झर्न बनाइएको सतहमा वैशाखी वा ह्वीलचेयर नचिप्लने गरी निर्माण गर्नु पर्नेछ ।

(ग) धाराको नजिकै सावुन वा व्रस राख्न बनाइने ठाउँको उचाइ पनि भूईँको सतहबाट बढीमा ३० इन्चको उचाइमा हुनु पर्नेछ ।

(घ) लुगा कपडा आदि राख्न वा झुण्ड्याउन बनाइएको खुट्टी आदि बढीमा ४२ इन्चको उचाइमा हुनु पर्नेछ ।

(ङ) सकेसम्म धाराहरु छनौट गर्दा सवैलाई उपयुक्त हुने किसिमका धाराहरु छनौट गर्नु पर्नेछ ।

शौचालयः

(१) कुनै पनि भवनमा सर्वसाधारणको प्रयोगको लागि निर्माण गरिएका शौचालय, आवास गृहमा निर्माण गरिएका शौचालय र अन्य शौचालयमा ह्वीलचेयर प्रयोगकर्ता लगायत अन्य अपाङ्गता भएका व्यक्तिको लागि प्रवेश र प्रयोगमा कुनै अवरोध हुनु हुँदैन ।

(२) शौचालय निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिको पहुँचयुक्त बनाउन देहायको मापदण्ड अपनाउनु पर्नेछ ।

(क) शौचालयको ढोकाको खापा बाहिर तर्फ खुल्ने गरी बनाउने भए ह्वीलचेयर प्रयोगकर्ताले वाहिर आफु सुरक्षित रही ढोकोको खापा बाहिर तर्फ तान्न मिल्ने गरी पर्याप्त ठाउँ राख्नु पर्नेछ । ढोका तान्दा ह्वीलचेयर थोरै पछाडि पट्टी गुडाउने र पुरै ढोका खुलिसकेपछि मात्र भित्र प्रवेश गराउनको लागि अतिरिक्त ठाउँको आवश्यकता पर्ने भएकोले यस्तो अतिरिक्त ठाउँ कम्तीमा पनि ६० इन्च लम्वाइ र ३६ इन्च चौडाइको हुनु पर्नेछ ।

(ख) खापा भित्र पट्टी खुल्ने गरी बनाउने भए ह्वीलचेयर भित्र प्रवेश गराएर पुन ह्वीलचेयर घुमाएर ढोका वन्द गर्न र उपयुक्त ठाउँमा ह्वीलचेयरलाई उभ्याएर शौच स्थानमा सर्न मिल्ने गरी खुला ठाउँ राख्नु पर्नेछ ।भित्र पट्टी शौच स्थानले ओगट्ने स्थानको अतिरिक्त यस्तो खुल्ला ठाउँ कम्तीमा पनि ३२ इन्च चौडा र ५१ इन्च लम्वाइको हुनु पर्नेछ ।

(ग) परम्परागत (टुक्रुक्क वसेर गर्ने) शौचस्थान अपांगता भएका व्यक्तिलाई अनुपयुक्त र कष्टकर हुने हुनाले सार्वजनिक शौचालयमा सकेसम्म सवैका लागि उपयुक्त हुने कमोड (मेचमा वसे जसरी वसेर गर्न मिल्ने) को प्रयोग गर्नु पर्नेछ । यस्तो कमोड जडान गर्दा यसको उचाई सतहबाट बढीमा १९ इन्च हुनु पर्नेछ ।

(घ) शौचालय भएको स्थान वा शौचालयलाई संकेत गर्ने सूचना लेखिएको ठाउँमा व्रेलमा पनि लेख्नु पर्ने र महिला शौचालय र पुरुष शौचालय छुट्याउन लागि व्रेलमा समेत लेखिनु पर्नेछ । यस्तो व्रेलमा लेखिएको सूचना दृष्टिविहिन व्यक्तिले उभिएर हातले छाम्दा सहज हुने गरी सतहबाट बढीमा ४२ इन्चको उचाइमा राखिनु पर्नेछ ।

(ङ) सार्वजनिक पुरुष शौचालयमा पुरुषहरुको लागि पिसाव फेर्नको लागि बनाइएको युरिनलसम्म ह्वीलचेयर लिएर जान कुनै अवरोध हुनु हुँदैन ।

(च) ह्वीलचेयरले टेकेको सतहबाट युरिनलको उचाइ बढीमा ३० इन्च हुनु पर्नेछ ।

नेपालमा अहिलेसम्म उल्लेखित मापदण्ड अनुसारको शौचालय तथा खानेपानीको संरचना निर्माण भएको पाइदैन । अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको लागि पैरवी गर्दै आएका अधिकारकर्मीहरुले समेत उल्लेखित बिषयमा जोडदार आवाज उठाउनुपर्ने देखिन्छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार