सामुदायिक शौचालयले दिलायो आत्मसम्मान र इज्जत

  वास खबर सम्बाददाता  394 पटक हेरिएको
🔗
25
Shares


√  लहान नगरपालिका वडा नं. २२ को जहडी गाउँको बीचैमा पोखरी छ । यही पोखरीमा गाउँलेहरु भाँडा माझ्ने, कपडा धुने, नुहाईधुवाई गर्ने र पूजाआजा समेत गर्छन् । हरेक काम सँग प्रत्यक्ष सम्बन्ध राख्ने पोखरीको डिलमा दिसा भेटिएपछि गाउँलेले शौचालय नभएकी लुटनीदेवी सदायालाई आरोप लगाउँथे । खुला ठाउँमा दिसा गर्छन् भन्ने सामाजिक आरोप खेपेकी लुटनीदेवीले घरमा शौचालय नभए पनि नजिकैको बाँस घारीमा दिसापिसाब गर्थे । तर यसबापत जग्गा धनीको धान रोप्ने समयमा रोप्ने, गोड्ने र काट्ने सम्मको काममा सघाउनुपर्थ्यो।


√ लहान नगरपालिका ११ पडारियाकी भलसरिया सदायाले खुला दिसामुक्त अभियानका बेला खाना पकाउने ठाउँसँगै शौचालय पनि बनाउनु भएको थियो । ठाउँ अभावले चुल्होसँगै शौचालय बनाउन बाध्य भएकी भलसरियाले केही समय पछि नै शौचालयको प्यान माटोले पुरिदिनुभयो । चुलोसँगै बनाएको शौचालयका कारण दुर्गन्ध फैलिएर खाना खान समेत नसक्ने र बालबालिकाले बान्ता गरेपछि शौचालय भत्काएको उहाँले सुनाउनुभयो । शौचालय भत्काए पछि भलसरियाको परिवारको दैनिकी पहिले झै खुला ठाउँमा दिसापिसाब गर्ने अवस्थामा फर्किएको थियो।


जहडी टोलकी लुटनीदेवी सदाया र पडारिया टोलकी भलसरिया सदाकै जस्तो अवस्था कैयौं घरको साझा समस्या थियो । किनकि शौचालय बनाउन चाहेर पनि उनीहरुसँग पर्याप्त जग्गा नहुँदा खुला ठाउँमै दिसापिसाब गर्न बाध्य थिए । जताततै गुचुमुच्च परेको बस्तीका कारण दिसापिसाब गर्न अर्काको खेतमा जानुपपर्थ्यो। बाँसघारीमा जानुपर्थ्यो।

पडारिया टोलीकी लक्ष्मी पासवान भन्नुहुन्छ ‘रातको समयमा पनि बाहिरै जानुपर्थ्यो, तराईको ठाउँमा सर्पको बिगबिगी हुन्थ्यो । अर्काको खेतमा जाँदा मानिसहरुले गाली गर्नुहुन्थ्यो । बाल बच्चा र गर्भवती महिलाहरु पनि सकी नसकी खुला ठाउँ खोज्दै जानुपर्थ्यो।

जिन्दगीको आधा उमेर दिसापिसाब गर्न खुला ठाउँ खोजेरै बिताएका लुटनीदेवी, भलसरिया र लक्ष्मी जस्ता समुदायको लागि अब यो इतिहास बनेको छ। उनीहरुका छोराछोरी र नाती नातिनाले कुरा गर्नुपर्‍यो भने भन्नेछन् ‘हाम्रा हजुरबा, हजुर आमा र बुबा आमाको पालामा खुला ठाउँमै दिसापिसाब गर्नु हुन्थ्यो रे, खुला ठाउँमा दिसापिसाब गर्दा कति सामाजिक बेइज्जत हुन्थ्यो रे ।


शौचालय बनाउने जग्गा समेत नभएको समुदायका लागि लक्षित गरी सामुदायिक शौचालय बनाएर समुदायद्धारा नै सञ्चालनमा ल्याएपछि खुला ठाउँमा दिसापिसाब गर्ने चलनको अन्त्य भएको हो ।

सिरहाको लहानमा वाटर एड नेपालले विकन परियोजना सुरु गरेपछि लहान नगरपालिका र सम्बन्धित वडा कार्यालयको साझेदारीमा सामुदायिक शौचालयको अवधारणा विकास भएको विकन परियोजना प्रमुख ई.कविन्द्र पुडासैनीले बताउनुभयो । लहान नगरपालिकामा हालसम्म ४ वटा सामुदायिक शौचालय निर्माण भएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार