नुवाकोट कारागारको दिसाजन्य लेदोबाट बायोग्यास निकाल्ने

खानेपानी विभागले बनाउने, कारागारले प्रयोग गर्ने, नगरपालिकाले व्यवस्थापन गर्ने

  वास खबर सम्बाददाता  483 पटक हेरिएको


नुवाकोट : नुवाकोटको विदुर नगरपालिकामा बनेको देशकै ठूलो क्षमताको कारागारको दिसाजन्य लेदोबाट बायोग्यास निकालिने भएको छ । विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठको अध्यक्षता तथा खानेपानी मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यता तथा कारागार व्यवस्थापन विभाग र खानेपानी विभागका महानिर्देशकहरु र सरोकारवालाहरु सम्मिलित बैठकले कैदीबन्दीको दिसाजन्य लेदोबाट निकालिने बायोग्यास कारागारले प्रयोग गर्ने र सो को सञ्चालन तथा ब्यबस्थापनको जिम्मा बिदुर नगरपालिकाले लिने निर्णय गरेको हो ।

हाल कारागारका कैदीबन्दीको दिसाजन्य फोहोरको सही व्यबस्थापन हुन नसक्दा कारागार र आसपासको परिसर दुर्गन्धित भएको, बातावरणीय प्रदुषण फैलिई कर्मचारी, कैदीबन्दी लगायत अन्य व्यक्तिहरुमा समेत स्वास्थ्यजन्य जोखिम हुन सक्ने देखिएकोले खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको आयोजनाले बायो ग्यास सहितको ढल प्रशोधन प्रणाली निर्माण गर्ने निर्णय गरिएको बैठकमा सहभागी खानेपानी तथा ढल व्यबस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठले जानकारी दिनुभयो ।


परिसरको पूर्ण क्षमता बमोजिमका कैदीबन्दी तथा विदुर नगरपालिका र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवन बीच सहकार्य भई निर्माणाधीन विदुर ढल निर्माण तथा प्रशोधन आयोजनाबाट विदुर नगरपालिकाको वडा नं. २, ४, ५ र ६ का १९ हजार ४०३ गरी हुन आउनेको दिसाजन्य फोहोर प्रशोधन तथा व्यवस्थापनको निम्ति स्वीकृत गुरुयोजना बमोजिमको उद्देश्यमा सहयोग पुग्ने कारागार व्यवस्थापनको अपेक्षा छ।

बायो ग्यास सहितको ढल प्रशोधन प्रणाली निर्माण गर्न कारागार कार्यालय नुवाकोटको नाममा दर्ता कायम मध्येबाट ३० रोपनी जग्गा उपलब्ध गराईने जनाएको छ ।

‘कारागार कार्यालय, नुवाकोटको नाममा दर्ता कायम हेको कि.नं. ३७७, ३७८, ३७९ र ६६८ गरी कुल क्षेत्रफल ६४५ रोपनी जग्गा मध्ये ढल प्रशोधन केन्द्र निर्माणको निम्ति कि.नं. ३७८ र ६६८ को जग्गा मध्येबाट दक्षिण तर्फको करिब ३० रोपनी जग्गामा कारागार तथा बिदुर नगरपालिकाको ढल प्रशोधन आयोजनाको प्रशोधन केन्द्र निर्माणको कार्य खानेपानी मन्त्रालय अन्तर्गतका निकायले यथाशीघ्र अघि बढाउनको लागि सबै निकायले आवश्यक कार्य प्रक्रिया अघि बढाउने निर्णय गरियो’ बैठकको निर्णयमा भनिएको छ ।

बिदुर नगरपालिका वार्ड नं. ६ मा करिब ७ हजार भन्दा बढी कैदीबन्दी क्षमताको कारागार भवन संरचनाका अलावा खेलमैदान, स्वास्थ्य केन्द्र, आगन्तुक भवन, सुरक्षा निकायको भवन लगायत उद्योग कारागारको रुपमा विकास गर्ने गुरुयोजना मुताबिकका संरचना निर्माण भैरहेको छ ।

२०८१ भाद्र १५ गते उदघाटन भै हालसम्म करिब ७ सय कैदीबन्दी विभिन्न कारागारबाट स्थानान्तरण भइ नयाँ कारागारमा सारि सकिएको छ । कारागारको स्वीकृत गुरुयोजना बमोजिम पाँचौ चरणमा मात्र ढल प्रशोधन र वायोग्यास प्लान्ट बनाउने योजना रहे पनि कारागारका कैदीबन्दीको दिसाजन्य फोहोरको सही व्यबस्थापन नहुँदा कारागार र आसपासको परिसर दुर्गन्धित भएकाले तत्काल निर्माण गर्न आवश्यक देखिएकाले सोही मुताबिक निर्माण गर्न सबै पक्ष एकमत भएका हुन् ।


बैठकमा विदुर नगरपालिकाका उप प्रमुख प्रभा बोगटी, कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराई, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, कारागार व्यवस्थापन विभाग, काठमाडौंका निर्देशक अनुज भण्डारी, विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुभाकर पौडेल, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, चितवनका आयोजना प्रमुख सुन्दर सुवेदी, विदुर नगरपालिकाको वडा नं. १ का अध्यक्ष लेनिन रञ्जित, वडा नं. २ का वडा अध्यक्ष दिपक कायस्थ, ४ नं. वडाका अध्यक्ष निलम बाबु ढुङ्गेल र ५ नं. वडाका अध्यक्ष लिलानाथ पौडेल लगायतको सहभागिता थियो ।

Bidur ageeement

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार