पर्सा : खुला दिसामुक्त घोषणा भएको पाँच बर्ष भैसक्दा पर्साको वीरगन्ज महानगरपालिका भित्रका १० प्रतिशत जनसंख्या सँग अहिलेसम्म पनि आफ्नै शौचालय छैन । मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले पर्सा जिल्लालाई ०७६ भदौ २८ गते खुला दिसामुक्त जिल्ला घोषणा गर्नु भएको थियो ।
त्यत्तिबेला जिल्लाका सबै घरमा शौचालय निर्माण भै खुला दिसामुक्त घोषणा गरेको जनाए पनि अहिलेसम्म पनि सदरमुकाम र महानगरपालिकामै १० प्रतिशत जनसंख्या सँग शौचालय नभएको पाइएको हो ।
राष्ट्रिय जनगणना ०७८ को जनसांख्यिक प्रतिवेदन अनुसार वीरगन्ज महानगरपालिकाका ४७ हजार ११४ घरपरिवार मध्ये १०.२ प्रतिशत घर परिवारको घरमा अहिलेसम्म शौचालय नभएको देखाएको हो ।
प्रतिवेदन अनुसार महानगरका कुल घरपरिवार मध्ये ८९.८ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालय प्रयोग गरिरहेका छन् । राष्ट्रिय तथ्यांक कार्यालय पर्साका अधिकृत राजेशकुमार दासका अनुसार महानगरपालिकामा सार्वजनिक ढल तथा सेप्टिक ट्यांकमा फ्लस सुविधायुक्त शौचालय भएका कुल घरपरिवारको संख्या ६१.५ प्रतिशत मात्र रहेको छ ।
यस्तै, साधारण शौचालय प्रयोग गर्ने घरपरिवारको अंश २७।५ प्रतिशत रहेको छ भने महानगरपालिकामा सार्वजनिक शौचालय प्रयोग गर्ने घरपरिवार ०.७ प्रतिशत तथ्यांकले देखाएको उहाँले बताउनुभयो। गत जनगणनामा २०६८ मा शौचालयमा पहुँच नभएको परिवार ३६.४ प्रतिशत रहेको थियो भने ५०.३ प्रतिशतले परिवारले फ्लस भएको र ११.९ प्रतिशतले साधारण शौचालय प्रयोग गरेको तथ्यांकमा उल्लेख छ ।
अधिकृत दासका अनुसार फ्लस सुविधा (जुनसुकै प्रकारको) भएको शौचालय प्रयोग गर्ने महानगरको वडा नम्बर ३ मा ८८.४ प्रतिशत, वडा नम्बर ४ मा ९८.९ प्रतिशत र वडा नम्बर १४ मा ९०.८ प्रतिशत रहेका छन् ।
यस्तै, शौचालय सुविधा न्यून हुने महानगरपालिकाको तीनवटा वडाहरू रहेको तथ्यांकमा उल्लेख छ । महानगरको वडा नम्बर २७ मा २५.७ प्रतिशत, वडा नम्बर ३२ मा २३.७ प्रतिशत र वडा नै नखुलेको एक वडामा १९.४ प्रतिशत रहेको अवस्था छ ।
शौचालय नै नभका घरपरिवारहरूको आधारमा वडाहरूको तथ्यांक हेर्दा तीनवटा वडाहरूले रहेको देखिएको अधिकृत दासले बताउनुभयो । महानगरपालिकाको वडा नम्बर २९ मा ४५.८ प्रतिशत, वडा नम्बर २७ मा ३६.१ प्रतिशत र वडा नम्बर ३२ मा ३१.२ प्रतिशत रहेका छन् ।
महानगरपालिकाको वडा अनुसार सेप्टिक ट्यांकमा जोडिएका फ्लस भएका शौचालय प्रयोग गर्ने परिवार वडा नम्बर २ मा ९१.२ प्रतिशत र सबैभन्दा कम वडा नम्बर ५ मा १४.६ प्रतिशत रहेका छन् । त्यस्तै शौचालय नभएको परिवार सबैभन्दा बढी वडा नम्बर ९ मा २.९ प्रतिशत रहेका छन् भने वडा नम्बर १० शौचालय नभएको परिवार मात्र चारवटा रहेको तथ्यांकमा उल्लेख छ ।