सिरहा : सिरहाको गोलबजार नगरपालिकाको वडा नं. १ र ३ का लागि निर्माण गरिएको गोला मुक्सार खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।
Welthungerhilfe (WHH Nepal) को सहकार्य एवं गोलबजार नगरपालिका, सवल नेपाल र स्थानीयको जनश्रमदान सहित कुल ३७ लाख २६ हजार २ सय ६४ रुपैयाँ लागतमा सम्पन्न भएको खानेपानी आयोजनाको नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठले उदघाटन गरी उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो । खानेपानी आयोजना सम्पन्न गर्न नगरपालिकाले ४ लाख ८० हजार, सवल नेपालले २५ लाख १० हजार २ सय ६५ रुपैयाँ र समुदायले ७ लाख ३६ हजार बराबरको श्रमदान गरेको जनाएको छ ।
खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि बर्षौदेखि दुषित पानी पिउन बाध्य गोला मुक्सारका स्थानीय ६० घर परिवारमा सुरक्षित पानीको पहुँच पुगेको छ। पूर्व पश्चिम राजमार्ग देखि ५ किलोमिटर उत्तरमा अवस्थित चुरेको काखमा रहेको बस्तीमा पहिला खानेपानीको निक्कै समस्या रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रेम गगन थापाले बताउनुभयो।
खानेपानी आयोजना उदघाटन तथा कार्यक्रममा गोलबजार नगरपालिकाका मेयर श्रेष्ठले नगरपालिकाको उत्तरी भेगका खानेपानी समस्या समाधान गर्न योजनाबद्ध ढंगले काम गरिरहेको बताउनुभयो । गोला मुक्सार खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना हस्तान्तरण तथा पूर्ण सरसफाइ बस्ती घोषणा कार्यक्रममा मेयर श्रेष्ठले भन्नुभयो ‘यस क्षेत्रको खानेपानी समस्या समाधानका लागि पालिकाले योजनाबद्ध ढंगले काम गरिरहेको छ।’
‘अहिले यसको क्षमताले ६० घरपरिवारले मात्र धारा प्रयोग गर्न सकिने अवस्था छ। बाँकी घर परिवारलाई पनि बैकल्पिक व्यवस्था गरेर भए पनि खानेपानी पु¥याउने मेरो प्रतिबद्धता छ’ मेयर श्रेष्ठले भन्नुभयो।
कार्यक्रममा पूर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुसार सफा र स्वच्छ टोल घोषणा गर्नका लागि योगदान पु¥याउने सवल नेपाल लगायत संस्था तथा व्यक्तिहरुको प्रशंसा गर्दै कदर समेत गरिएको थियो।
प्रत्येक घरमा सफा शौचालयको पहुँच, सुरक्षित खानेपानीको पहुँच लगायत पूर्ण सरसफाइको सूचकहरुको सबै घरमा पहुँच भएको सुनिश्चित पश्चात उक्त बस्तीलाई सफा र स्वच्छ टोल समेत घोषणा गरिएको छ ।
घोषणा कार्यक्रममा पूर्ण सरसफाइ उन्मुख टोल निर्माण गर्न १२ बुँदे प्रतिबद्धता समेत जाहेर गरिएको छ ।