जाजरकोट : जाजरकोटको जुनेचाँदे गाउँपालिका—३ डाँडाकोट गाँउको टमट्टा टोलका ७१ बर्षिय मने टमट्टाकी ६८ बर्षिया गोरी टमट्टाको दाहिने हात र खुट्टा चल्दैन । घरमा दुई बुढा बुढी मात्र बस्नुहुन्छ ।
अपाङ्गता पत्नीको हेरचाह र स्याहार सुसार गर्ने जिम्मेवारी ७१ बर्षीय पति मने टमट्टाको काँधमा छ । खाना पकाउन र सरसफाइका लागि टाढा बाट खानेपानी बोक्दा बोक्दा बृद्ध अवस्थाका मने टमट्टा हैरान हुनुहुन्थ्यो ।
‘घर नजिक पानीका धारा थिएन । पानी ल्याउन टाढा जानुपर्थ्यो । बुढा मान्छेले ल्याएको पानी बिहानको बिहानै बेलुकाको बेलुकै सकिन्थ्यो’ मने बुढाकी पत्नी गोरी टमटाले विगत सुनाउँदै भन्नुभयो ‘घरमा बुढा नभएका बेला पिउने पानी समेत हुँदैनथ्यो ।’
उहाँले अहिले घर अगाडि धारा बनेपछि बूढा बूढीका लागि सरसफाइ र खानेपानीका लागि ठूलो राहत भएको बताउनुभयो ।
टाढाको मूलबाट ल्याएको एक ताउली पानीले कहिले काही कपाल धोईदिने र कहिलेकाहीँ कपडा डोकोमा बोकेर एक घण्टा टाढाको खोलामा पुगेर बृद्ध पतिले धोईदिने गरेको सुनाउनुभयो । ‘अब घर आँगनमै पानी आएको छ। म कुनै काम गर्न नसके पनि मेरो बूढोको लागि धेरै राहत मिलेको छ’ गोरीले भन्नुभयो ।
घरमै पानीको धारा पुगेपछि मनेका छोरी जुँवाईले शौचालय निर्माण गरिदिनु भएको छ । घर बाहिर भित्र आवातजावत गर्न मुस्किल भईरहेकै बेला छोरी जुँवाईले शौचालय बनाईदिएपछि मने दम्पती खुसी हुनुु भएको छ । ‘अब धारा सम्म गएर पानी ल्याउन र शौच लागेको बेला शौचालय सम्म पुग्न सकिन्छ भन्ने आशा पलाएको छ’ मने टमट्टाले भन्नुभयो।
घरमा अपाङ्गता पत्नीको स्याहार सुसार गर्दा ७१ बर्षको बृद्ध सकी नसकी पानी बोक्न बाध्य भए पनि अब बृद्ध परिवारका लागि केही राहत महसुस भएको वडा अध्यक्ष जय बहादुर खड्काले बताउनुभयो ।उहाँका अनुसार घर आँगनमै बनेको धाराले सबै भन्दा बढी राहत मने जस्तै बृद्धबृद्धा, अपाङ्गता भएकाहरुलाई मिलेको छ । ‘बल भएका मानिसहरुले टाढाबाट खानेपानी बोकेर आपूर्ति गरेपनि बृद्धबृद्धा र पाङ्गता भएका व्यक्तिलाई साह्रै कष्ट भएको थियो । तर त्यो अवस्था अहिले छैन’ उहाँले भन्नुभयो ।
युनिसेफ र छाँ-या नेपालको २९ लाख ९७ हजार ९ सय २९ रुपैयाँ जुनीचाँदे गाउँपालिकाबाट ४ लाख ११ हजार ६ सय ८२ र उपभोक्ता जनश्रमदान ७ लाख ९० हजार १ सय २६ रुपैया गरी कुल ४१ लाख ९९ हजार ७ सय ३९ रुपैयाँमा खानेपानी योजना निर्माण गरिएको हो ।
खानेपानी योजना सम्पन्न भएपछि जुनीचाँदे ३ डाँडाकोटका १ सय २ घरधुरीले सुरक्षित खानेपानी उपभोग गर्न पाएको तुसार खोली खानेपानी उपभोक्ता समितिका सचिव रेशम बहादुर खड्काले बताउनुभयो।