मकवानपुर : मकवानपुरको कैलाश गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता ऐन यसै हिउँदे अधिवेशनबाट पारित हुने भएको छ । कैलाश गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता ऐन मस्यौदा तयारी गोष्ठी कैलाश गाउँपालिकामा हालै सम्पन्न भयो ।
कैलाश गाउँकार्यपालिका पदाधिकारीहरुलाई खानेपानी, सरसफाइ तथा स्वच्छता नीति तर्जुमा सम्बन्धी तालिम दिईएको हो । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरए) को आयोजना र Welthungerhilfe (WHH) को सहयोगमा सञ्चालन गरिएको खानेपानी प्रणाली सुदृढीकरण तथा व्यवहार परिवर्तन परियोजना अन्र्तगत कैलाश गाउँकार्यपालिकाका पदाधिकारीहरुको क्षमता अभिबृद्धिका लागि छलफल गोष्ठी आयोजना गरिएकोे हो ।
स्थानीय सरकारको क्षेत्रगत योजनाको सुदृढीकरणका लागि सक्षम बनाउने उद्देश्यले तालिम दिईएको नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) का कार्यक्रम व्यवस्थापक निराजन पोख्रेलले बताउनु भयो । एक दिने तालिममा कैलाश गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रसाशकीय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
छलफलमा सिकेका सीप तथा ज्ञानले आफ्नो क्षेत्रमा आवश्यक विधेयक बनाउन ठुलो सहयोग पुगेको गाउँपालिका उपाध्यक्ष वालकुमार मल्ल ठकुरीले बताउनु भयो । गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता नीति तर्जुमाको सन्दर्भमा सहभागीहरु बीच तीन वटा समूहगत अभ्यास गरी खानेपानी सरसफाइ तथा स्वच्छताको मस्यौदा उपर बुंँदागत एवं दफाबार छलफल गरी खानेपानी, सरसफाइ तथा स्वच्छता विधेयकको अन्तिम मस्यौदा तयार गरिएको थियो ।
वागमती प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालको विशिष्ट आतिथ्यतामा आयोजित कार्यक्रमलाई गाउँपालिका राष्ट्रिय महासंघकी वास व्यवस्थापक इन्दिरा अधिकारी र शुसासन विज्ञ दिपक श्रेष्ठले सहजी करण गर्नु भएको थियो ।
कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गंगादत्त नेपालले गुणस्तरीय पानी स्वस्थ्यकर जिन्दगानी भन्ने मूल नारालाई आत्मसात गरी लागु गर्न गराउन खानेपानी, सरसफाइ तथा स्वच्छता नीति तर्जुमा गोष्ठी फलदायी बनोस् शुभकामना व्यक्त गर्नु भयो ।
कैलाश गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठले छलफलबाट खानेपानी, सरसफाइ तथा स्वच्छताको बिषयमा आवश्यक ऐन, नीति, नियम तथा निर्देशिका तयार गर्न आवश्यक धेरै कुराहरुको नीति तर्जुमा गरी लागु गर्न सहज हुने बताउनु भयो ।
कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानले यो कार्यक्रम नीति निर्माणको सन्दर्भमा अत्यन्तै सान्दर्भिक भएको बताउनु भयो ।