काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेललाई खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. राम कुमार श्रेष्ठ र उपमहानिर्देशक रामचन्द्र काफ्लेले भेटवार्ता गर्नुभएको हो ।
भेटमा राष्ट्रपति पौडेलले संविधान प्रदत्त मौलिक हकको रुपमा रहेको खानेपानी तथा सरसफाइ सुविधाको अवस्थाबारे चासो व्यक्त गर्नुभयो । उहाँले देशैभरिका खानेपानी सुविधाको अवस्था र चालु आर्थिक बर्षभित्रै सम्पन्न हुने आयोजनाहरुका बारेमा चासो लिनु भएको थियो ।
राष्ट्रपति पौडेल सँगको भेटमा विभागले सम्पादन गरिरहेको खानेपानी तथा सरसफाइ सम्बन्धी आयोजनाहरुको बारेमा महानिर्देशक श्रेष्ठले विस्तृत रुपमा जानकारी गराउनु भयो । उहाँले संघीयता पछि देशैभरिमा २० वटा आयोजना कार्यालयबाट सेवा दिईरहेको र ती कार्यालय अस्थायी प्रकृतिको भएकाले सेवा दिन भैरहेको कठिनाई बारे पनि जानकारी गराउनु भएको थियो ।
सो भेटमा राष्ट्रपति पौडेलले खानेपानी सेवा मौलिक हक र अति आवश्यक सेवा पनि भएकाले जत्तिसक्दो चाँडो सम्पादन गर्न र प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँले शीतल निवासमा मेलम्चीको पानी नियमित रुपमा आपूर्ति नभएको बिषयमा समेत चासो व्यक्त गर्नुभयो । साथै त्यसमा आफ्नो गृह जिल्ला तनहुँ र भानु नगरपालिकामा सञ्चालित खानेपानी आयोजनाहरु र त्यसको प्रगतिको बिषयमा पनि चासो राख्नु भएको थियो ।
‘सम्माननीय राष्ट्रपति ज्यूलाई खानेपानी तथा ढल व्यवस्थापन विभागबाट सम्पादन भैरहेका खानेपानी तथा सरसफाइ आयोजनाहरुको बारेमा ब्रिफिङ गरियो’ राष्ट्रपति सँगको भेट पछि महानिर्देशक श्रेष्ठले भन्नुभयो ‘खानेपानी तथा सरसफाइ मौलिक हक र अत्यावश्यक सेवा भएकाले यसको प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो, उहाँले हालसम्मको स्थिति र चालु आर्थिक बर्षको प्रगतिका बिषयमा समेत चासो राख्नु भएको थियो ।’