काठमाडौ : बागमती सफाइ महाअभियान अब काठमाडौं महानगरपालिकाका १० वटा वडामा वडा कार्यालयको समन्वयमा सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारको अध्यक्षतामा बुधबार बसेको बैठकले आगामी दिनमा वडाको समन्वयमा वागमती सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
काठमाडौं महानगरपालिकाका विभिन्न १० वटा वडा भएर बागमती बगेकोमा वडा नं.७ , ८, ९, १० ,११ , १२ र १४ का वडाअध्यक्षले समन्वय गर्न सहमति जनाएका हुन्।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अगुवाइमा प्रत्येक शनिबार हुँदै आएको सफाइ अभियानमा अब देखि महानगरपालिकाका क्षेत्रका वडाध्यक्ष सहितका जनप्रतिनिधिको सहभागिता रहने सहमति भएको अभियन्ता रामशरण कार्कीले जानकारी दिनुभयो। बैठकले आगामी साताको सरसफाइ वडा नं– ८ का वडाध्यक्षको संयोजनमा सञ्चालन गर्ने निर्णय समेत गरेको छ। बैठकले आगामी दिनमा फोहर वर्गीकरण, व्यवस्थापन तथा पुनः प्रयोग गर्न प्रोत्साहन गर्ने तथा हेलचेक्रयाइ गर्नेलाई जरिवाना समेत गर्ने निर्णय गरेको छ।
बागमती सफाइ अभियानका प्रमुख अभियन्ता लीलामणि पौड्यालको उपस्थितिमा बसेको बैठकले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले परियोजना कार्यान्वयनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्ने निर्णय गरेको छ। सफाइ अभियानमा विभिन्न सङ्घ, संस्था, नागरिक समाज, अधिकारकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति संलग्न हुँदै आएका छन्।
वि.सं. २०७० जेठ ५ गतेबाट सुरु भएको अभियानका क्रममा हालसम्म २० हजार टन बढी फोहर सङ्कलन भइसकेको जनाइएको छ।