काठमाडौ : खानेपानी योजना निर्माणको काम प्राविधिक पक्ष सँग मात्र सम्बन्धित छ ? झट्ट हेर्दा त्यस्तै देखिन्छ पनि । प्राविधिक पक्षहरु सही तरिकाले अपनाएको खण्डमा खानेपानीको संरचना टिकाउ हुने र दिगो हुने विश्वास गरिन्छ ।
तर खानेपानी योजनालाई दिगो बनाउनका लागि प्राविधिक पक्ष मात्रले पूर्ण हुँदैन । सामाजिक पक्ष पनि उत्तिकै बलियो हुनुपर्छ । सामाजिक पक्षहरुमा विशेष गरेर पैरवी गर्ने, समुदायलाई सचेतीकरण गरेर भविश्य सम्म खानेपानी योजनाको सञ्चालन सुनिश्चित गर्ने हिसाबले जोड दिनुपर्ने गोर्खा वेल्फेयर ट्रष्टका सामाजिक विकास विभाग प्रमुख रोहित तुम्बाहाम्फे बताउनुहुन्छ।
समुदायको परिचालन अर्थात समुदायको सहभागिता सबैभन्दा महत्वपूर्ण हुने उहाँको भनाइ छ । योजना तर्जुमा देखि डिजाइन, कार्यान्वयन र सञ्चालनमा पनि समुदायको सहभागिता भयो भने त्यस्ता योजनाको दिगोपना हुने उहाँको अनुभव छ ।
यसो गर्दा योजना तर्जुको चरणमा कसरी योजना बनाउने भन्ने कुरा समुदायसँग बसेर समुदायकै आवश्यकता र चाहना अनुसार डिजाइनमा समाविष्ट गर्ने, निर्माणको बेला समुदायलाई प्रत्यक्ष रुपमा परिचालन गर्ने र साझेदार रुपमै काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
‘निर्माणको चरणमा समुदायले पाइपलाइन खन्ने, पूर्ने जस्ता योगदान अनिवार्य रहेछ । त्यो पनि समुदायको आर्थिक स्थिति हेरेर १० प्रतिशत देखि २० प्रतिशत सम्म पनि गराउन सकिन्छ । यसरी उहाँहरुको श्रम नै लगानी भएपछि अपनत्व पनि महसुस हुने रहेछ । त्यसैले यो पक्ष एकदमै जरुरी छ’ उहाँले भन्नुभयो ।
योजना बनिसकेपछि सन्चालन, अनुगमन गर्ने कुरामा पनि उहाँहरुलाई प्रत्यक्ष सहभागी गरायो भने योजनालाई दिगो बनाउन सजिलो हुने उहाँको भनाइ छ ।
यसका साथै समुदायको क्षमता विकास पनि अनिवार्य गर्नुपर्छ । समितिहरु निर्माण गरेपछि आवश्यक नेतृत्व विकासको तालिम, सन्चारका तालिमहरु, हरेक महिना मिटिङ गर्ने, एजेण्डा बनाउने, आम्दानी खर्चको हिसाब राख्ने, अडिट राख्ने लगायत तालिमहरु सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । सँगै खानेपानी मर्मत सम्भार कार्यकर्तालाई पनि तालिम दिएर निपुण बनाउनुपर्छ ।
खानेपानी उपभोक्ता समितिलाई अनिवार्य रुपमा गाउँपालिका वा नगरपालिकामा दर्ता गरी समितिलाई कानुनी मान्यता दिनुपर्ने उहाँको सुझाव छ । जसले गर्दा भोलिका दिनमा कानुनी अडचन् आए पनि कानुनी रुपले नै निरुपण गर्न सकिन्छ । ‘जसले गर्दा उहाँहरुको संस्थागत विकास हुने र पछिसम्म योजना सञ्चालन गर्न कुनै पनि कानुनले अवरोध नगर्ने रहेछ’ उहाँले भन्नुभयो ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :