जाजरकोट : जाजरकोट भूकम्पबाट अति प्रभावित रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाका विभिन्न वडामा १२ सय शौचालय मर्मत सम्भार तथा पुनः निर्माण गरिएको छ । आठबीसकोट नगरपालिकाको वडा नं. ७ देखि १४ सम्मका ७ सय घरपरिवारको शौचालय मर्मत सम्भार र ४ सय ९० घरपरिवारको शौचालय पुनःनिर्माण गरिएको हो ।
यस्तै १० घरपरिवारमा अपाङ्गतामैत्री शौचालयको पुनःनिर्माण गरिएको पहाडी क्षेत्र बिकास अभियान, जाजरकोटका कार्यक्रम संयोजक रत्न डाँगीले जानकारी दिनुभयो। गत बर्षको भुकम्पले सबै संरचनाहरु ध्वस्त भएपछि संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) को आर्थिक सहयोगमा मेसि कोप्र्स नेपाल र पहाडी क्षेत्र विकास अभियान, जाजरकोटको प्राविधिक सहयोगमा एकीकृत पुनर्लाभ कार्यक्रम अन्तर्गत ती संरचनाहरु निर्माण गरिएको हो।
यस्तै ९ वटा विद्यालयमा छात्रा तथा अपाङ्गतामैत्री शौचालय एवं बालमैत्री खानेपानी धारा निर्माण गरिएको छ । विद्यालयमा निर्माण गरिएका बालमैत्री खानेपानी धारा, छात्रा तथा अपाङ्गता मैत्री शौचालयबाट २ हजार २३३ जना विद्यार्थीहरु लाभान्वित भएको कार्यक्रम संयोजक डाँगीले जानकारी दिनुभयो ।
उप–प्रमुख नेतृत्वको अनुगमन टोलीद्वारा अनुगमन
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका उप–प्रमुख धन कुमारी शाही नेतृत्वको अनुगमन टोलीले एकीकृत पुनर्लाभ कार्यक्रमले निर्माण गरेका खानेपानी योजना, विद्यालय तथा नीजि धारा तथा शौचालयहरुको अनुगमन गरेको छ । वडा नं. ११ को चौर स्थित समावेशी टोलबाट सुरु गरिएको अनुगमन फारुल्ला, चिसापानी, भल्म, बाँके ज्युलासम्मका खानेपानी आयोजना, मर्मत तथा नवनिर्मित शौचालयहरुको अनुगमन गरिएको हो।
भूकम्पीय विपदको वेला नगरबासी सबैको घरदैलोमा पुग्न नसकेकोमा दुःख व्यक्त गर्दै उपप्रमुख धन कुमारी शाहीले भुकम्पले भत्किएका संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने युनिसेफ, पहाडी क्षेत्र विकास अभियान, मेसि कोप्र्स नेपाल लगायत सबै साझेदार निकायलाइ धन्यवाद व्यक्त गर्नुभयो ।
भुकम्पले ढलेका संरचनाहरुलाइ उठाउन नगरपालिका र सरकारले मात्र नसक्ने बताउँदै उपप्रमुख शाहीले साझेदार निकायसँगको सहकार्यलाई निरन्तरता दिने बताउनुभयो ।