काठमाडौ : बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिबाट खानेपानी तथा सरसफाइ प्रणालीहरूमा पुगेको क्षतिको मर्मत सम्भार एवं पुनर्स्थापना गर्न तत्काल करिब ५ अर्ब ६० करोड आवश्यक पर्ने भएको छ । केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई खानेपानी मन्त्रालयको काम कार्वाही बारे ब्रिफिङ गर्दै खानेपानी मन्त्रालयका सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्यले सो जानकारी गराउनु भएको हो ।
गत असोज ११ र १२ गतेको बाढी पहिरोले खानेपानी र सरसफाइ क्षेत्रमा करिब ५ अर्ब ६० करोड रुपैयाँको भौतिक संरचनामा क्षति पुर्याएको थियो ।
सचिव बज्राचार्यले उक्त क्षतिको पुनर्स्थापनाबाट २५ लाख जनसंख्या लाभान्वित हुने जानकारी गराउनुभयो। प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै उहाँले चालु आर्थिक बर्ष खानेपानी तथा सरसफाइ क्षेत्रमा विनियोजन गरिएको बजेटबाट करिब ६ अर्ब रुपैयाँ रकमान्तर गर्नुपर्ने बताउनुभयो । तयारी पूरा नभएका आयोजनाहरुबाट निर्माणाधीन आयोजनाहरुका लागि रकमान्तर गर्नुपर्ने र यसो गर्दा निर्माणाधीन खानेपानी आयोजनाहरुबाट छिटो प्रगति हासिल गर्न सकिने बताउनुभयो ।
सरकारले चालु आर्थिक बर्ष २०८१/०८२ को बजेटमा खानेपानी तथा सरसफाइ क्षेत्रको लागि २६ अर्ब ६३ करोड मात्र बजेट विनियोजन गरेको छ ।