सुलभ शौचालयले पढाईमा सहजता

  जीवन सेजुवाल  156 पटक हेरिएको


जाजरकोट : विद्यालयमा भएको दुई कोठे जीर्ण शौचालयमा लाईन लागेर शौच गर्दा पढाईमा बाधा ब्यहोर्दै आएका नलगाड नगरपालिका—२ स्थित जनक आधारभुत बिद्यालयका बिद्यार्थीहरु अहिले सुलभ शौचालयमा शौच गर्छन् । साना ठूला, छात्र छात्रा सबैका लागि उपयुक्त हुने शौचालय निर्माण भएपछि विद्यार्थीको पढाईमा समेत सहज भएको छ ।

बेलायत सरकारको आर्थिक सहयोगमा युनिसेफ र समाज सेवा केन्द्र (सोसेक) नेपालको प्राविधिक सहयोगमा एकीकृत पुनर्लाभ कार्ययोजना अन्तर्गत बिद्यालयमा तीन कोठे अपाङ्गमैत्री शौचालय निर्माण भएको हो । यसबाट बिद्यालयमा अध्ययनरत २ सय २९ बिद्यार्थी लाभान्वित भएका छन् । त्यसमध्ये ९ जना अपाङ्गता भएका बिद्यार्थी अध्ययनरत छन् । शौचालय अभावले सबै भन्दा बढी अपाङ्गता भएका बिद्यार्थीहरुले सास्ती भोग्नु परेको थियो ।

अपाङ्गतामैत्री शौचालयले आफूहरुलाई राहत मिलेको अपाङ्गता भएका बालबालिकाहरु बताउँछन् । ‘हामी जस्ता बिद्यार्थीहरुको लागि छुट्टै शौचालय थिएन । जीर्ण शौचालयमा अरु विद्यार्थीहरु जस्तै लाईनमा बसेर सौच गर्न बाध्य थियौ। अहिले हाम्रा लागि छुट्टै शौचालय निर्माण भएकाले म जस्तै अन्य साथीहरुलाई पनि सहजता भएको छ’ बिद्यार्थी अर्जुन बिकले भन्नुभयो ।

बिद्यालयको कक्षा ४ मा अध्यनरत उर्मिला बिकका अनुसार पहिला जीर्ण शौचालय हुँदा छात्र छात्राहरु एउटै सौचालयमा पालो कुरेर सौच गर्न बाध्य थिए । अहिले छात्र छात्राहरुका लागि छुट्टा छुट्टै शौचालय र बालमैत्री धारा समेत निर्माण भए पछि सबैलाई सहज भएको छ ।

भुकम्पले क्षति पुर्‍याएको जीर्ण शौचालयमा जोखिम मोलेरै शिक्षक तथा विद्यार्थीहरुले शौचालय गर्नुपर्ने बाध्यता भएकाले शौचालय र बालमैत्री धारा निर्माण गरिएको सोसेक नेपालका सामाजिक व्यवहार परिवर्तन र तालिम अधिकारी सृष्टि बाठा मगरले जानकारी दिनुभयो ।

शौचालय निर्माणका लागि लगानी भएको ७ लाख २९ हजार ९ सय ४९ रुपैया ४० पैसा मध्ये बिद्यालयको तर्फबाट ६२ हजार ५ सय रुपैयाँ लगानी भएको बिद्यालयका प्रधानाध्यापक जयबहादुर वलीले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार