काठमाडौ : सरकारले खानेपानी तथा सरसफाइ नियमावली २०८१ लाई नेपाल राजपत्रमा प्रकाशित गरेको छ । यही पुस १६ गते बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको खानेपानी तथा सरसफाइ नियमावली २०८१ आज नेपाल राजपत्रमा प्रकाशित भएको हो ।
खानेपानी तथा सरसफाइ ऐन २०७९ स्वीकृत भएको दुई बर्षपछि खानेपानी तथा सरसफाइ नियमावली २०८१ जारी भएको हो । नियमावली जारी भएपछि अब खानेपानी तथा सरसफाइ ऐन २०७९ कार्यान्वयन गर्न सहज हुनेछ। यसैबीच खानेपानी मन्त्रालयले “खानेपानी तथा सरसफाई नियमावली २०८१” सार्वजनिक गर्न कार्यक्रम आयोजना गरेको छ । भोलि माघ ११ गते शुक्रबार खानेपानी मन्त्रालयमा कार्यक्रम आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।
नियमावलीले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको खानेपानी तथा सरसफाइको जिम्मेवारी तथा दायित्व स्पष्ट रुपमा किटान गरेको छ भने खानेपानी तथा सरसफाइ सेवा तथा सर्वेक्षण गर्न अनिवार्य अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ ।
यद्यपि पिछडिएको क्षेत्र, अतिविपन्न तथा दलित समुदायमा पाँच सय सम्मको जनसङ्ख्या लाभान्वित हुने वा एक करोड रुपैयाँसम्मको लागतका साना खानेपानी तथा सरसफाइ आयोजनाको सर्वेक्षण, निर्माण, सञ्चालन तथा व्यवस्थापन गरी खानेपानी सेवा तथा सरसफाइ सेवा प्रदान गर्न र वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्नु नपर्ने प्रकृतिका नवीकरणीय उर्जा प्रविधिमा आधारित र वर्षातको पानी सङ्कलनमा आधारित साना खानेपानी आयोजनाको सर्वेक्षण, निर्माण, सञ्चालन तथा व्यवस्थापन गरी खानेपानी सेवा तथा सरसफाइ सेवा प्रदान गर्न भने अनुमति लिईरहन नपर्ने व्यवस्था गरेको छ ।
नियमावलीले सेवाको प्रकृतिको आधारमा अनुमति पत्रको दस्तुर, अवधि तथा अनुमति पत्र नवीकरण दस्तुर समेत निर्धारण गरेको छ।
विस्तृतमा हेर्नुहोस् खानेपानी तथा सरसफाइ नियमावली :
Nखानेपानी तथा सरसफाइ नियमावली २०८१ वास खबरको दस्तावेजमा पनि संग्रहित छ । दस्तावेजमा रहेको खानेपानी तथा सरसफाइ नियमावली डाउनलोड गर्न सक्नुहुनेछ।