नगर सरसफाइ जागरणका लागि फोहोर उठाउने दौड प्रतियोगिता

  वास खबर सम्बाददाता  150 पटक हेरिएको

भैरहवा : ‘सफा सहर, हाम्रो रहर’ नारा सहित बुटवलमा ट्रास रेस प्रतियोगिता हुने भएको छ । युवाहरुमा नगर सरसफाइको जागरणका लागि माघ १९ गते बृहत फोहोर उठाउने दौड प्रतियोगिता हुने भएको हो ।

बुटवल उपमहानगरपालिकाको सहयोग, ग्रास इन्टरनेशनलको प्रायोजनमा क्लोथ एण्ड फुड बैंक बुटवलले गर्ने प्रतियोगिताको तयारी पुरा भएको पत्रकार सम्मेलन गरी आयोजक क्लोथ एण्ड फुड बैंक बुटवलका कमल जिसीले बताउनुभयो । मनोरञ्जनसँगै युवा जागरणलाई जोडेर नया अभियान बुटवलमा सुरुवात गरेको उहाँले बताउनुभयो । काठमाडौंमा सरसफाइ अभियान चलाउँदाको सिकाईबाट आफ्नै क्षेत्र बुटवलमा नयाँ थालनी गर्न लागेको उहाँले बताउनुभयो ।

यस क्षेत्रका सुरक्षा निकाय, कलेज, विद्यालय लगायतमा समन्वय गरिएको कार्यक्रममा ८५० जना दर्ता भैसकेको उहाँले बताउनुभयो । “करिब एक हजार जना सहभागी हुने अपेक्षा छ,” उहाँले भन्नुभयो । १६ वर्ष उमेर माथिको युवाहरु सहभागी हुन पाउने व्यवस्था रहेको उहाँले बताउनुभयो ।

भविष्यमा बुटवलकै पर्वको रुपमा लैजाने गरी अघि बढाउने उहाँले बताउनुभयो । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार, द्वितीयले ३० हजार र तृतीयले नगद १५ हजार रुपियाँ र प्रमाणपत्रबाट पुरस्कृत गरिने उहाँले बताउनुभयो । लाइम एण्ड लेमल र रिफ्रेस रेष्टुरेन्टबाट सुरु भएको रेस क्लब डेनेभोमा समापन हुनेछ । कालिका पथ, ट्राफिक चोक, भुड्की चोक, भाटभटेनी, राजमार्ग चौराहा हुँदै पुनः क्लब डेनेभोमा पुगेर समापन हुनेछ ।

कार्यक्रममा क्लोथ एण्ड फुड बैंक केन्द्रका सल्लाहकार राजिव गौतमले वातावरण जोगाउने महत्वपूर्ण अभियान भएको बताउनुभयो । बुटवलबाट नै सुरु भएको यो अभियान अहिले देशभर चलेको छ । सहभागीको लागि निःशुल्क फारमको व्यवस्था रहेको उहाँले बताउनुभयो ।

बुटवलको ६ किलोमिटर दूरीमा फोहोर उठाउन एक घण्टाको समयावधि तोकिएको कार्यक्रम संयोजक लक्ष्मण श्रेष्ठले बताउनुभयो । सहभागीहरुले सडकमा भेटिएका प्लास्टिकजन्य पदार्थ दुई जना समूहमा रहने उहाँले बताउनु भएको खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ। एक जना फोहोर उठाउने र अर्कोले व्यागमा राख्ने उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार