
काठमाडौ : खानेपानी र सरसफाइको क्षेत्रमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न नवीन प्रविधिको खोज र उपयोग आजको आवश्यकता रहेको दियालो टेक्लोलोजिज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले बताउनु भएको छ । नेपाल जलवायु परिवर्तन र प्राकृतिक प्रकोपको दृष्टिकोणले अति संवेदनशील देश भएकाले यसको असर पानीका स्रोतहरूमा परेको र यसले गर्दा खानेपानी सुरक्षामा जटिल चुनौतीहरू निम्त्याइरहेको उहाँले बताउनुभयो।
दियालो टेक्नोलोजिज प्रा. लि. ले आयोजना गरेको “Enhancing Climate Resilience Water Security through Technology and Innovation” बिषयक कार्यशाला गोष्ठीमा उहाँले यसका लागि ज्ञान, अनुभव, र विचारहरू आदानप्रदान गरी एक अर्काबाट सिक्ने र व्यवहारिक समाधान पहिल्याउने प्रयास गर्नुपर्ने बताउनुभयो ।
दियाले टेक्नोलोजिजले विगत १२ वर्षदेखि खानेपानी क्षेत्रका प्रविधिहरू निर्माण र जडान गर्दै आईरहेको छ । ‘शुरुमा अनलाइनबाटै महसुल भुक्तानी गर्न सक्ने सुविधा नै नयाँ थियो। नयाँ प्रविधि अपनाउन खानेपानी संस्थाको दक्षता बढाउनु आवश्यक थियो, र यो जिम्मेवारी हामीले नै लियौं’ उहाँले भन्नुभयो ‘खानेपानी संस्थाको क्षमता अभिबृद्धि गर्नको लागि विभिन्न संस्थासँग सहकार्य गर्दै आइरहेका छौ।’
पछिल्लो ५ वर्ष यता खानेपानीलाई स्वचालित बनाउने प्रविधिहरुमा काम गर्दै आएको दियालोले निम्न कामहरु गर्दै आएको छ ।
√ पानीको उत्पादन र बितरणको अटोमेसन
√ रियल टाईममै पानीको गुणस्तर मापन तथा अनुगमन
√ जमिन मुनिको पानीको तह मापन तथा बिश्लेषण गर्ने प्रविधि
√ भौगोलिक सूचना प्रणालीमा आधारित सम्पति ब्यबस्थापन गर्ने जस्ता अत्याधुनिक प्रविधिहरू

यी प्रविधिहरूले खानेपानीको व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पु¥याएको उहाँले बताउनुभयो । अझै प्रभावकारी नतिजाका लागि सबै पक्षहरूको सहकार्य र साझेदारी आवश्यक पर्ने उहाँको भनाइ छ । उहाँले हरेक वर्षझैं यस वर्ष पनि सातै प्रदेशमा प्रदेशस्तरीय कार्यशाला आयोजना गरी खानेपानी उपभोक्ता समिति तथा सरोकारवालासँग अन्तरक्रिया गरिरहेको र यस क्रममा, प्रविधिको आवश्यकता र खानेपानी क्षेत्रमा यसले पुर्याउन सक्ने योगदानबारे गहन छलफल भएको बताउनुभयो । ‘सातै प्रदेशमा आयोजित कार्यशालाहरूको निष्कर्षलाई एकीकृत गर्दै राष्ट्रिय स्तरमा गहन छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो’ उहाँले भन्नुभयो।
कार्यशालामा सुरक्षित र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन प्रविधिले खेल्न सक्ने भूमिका, नेपाल सरकार, बिकास साझेदार लगायत खानेपानी क्षेत्रमा कार्यरत सरोकारवालाहरू बीच सहकार्यका सम्भाव्य क्षेत्रहरू र खानेपानीको प्रभावकारी सन्चालन तथा चुहावट नियन्त्रण, सम्पत्ति व्यवस्थापन र पानीको गुणस्तर सुधार गर्दै सेवा प्रवाहलाई कसरी उत्कृष्ट बनाउन सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो ।
यस्तै जलवायु परिवर्तनका प्रभावहरूलाई न्यूनीकरण गर्दै प्रविधिको प्रयोगद्वारा खानेपानी सुरक्षालाई कसरी सुनिश्चित गर्न सकिन्छ र खानेपानी क्षेत्रमा अटोमेसन, जिआईएस र एआई र अन्य नवीनतम प्रविधिको उपयोग र प्रोत्साहन गर्ने बिषयमा समेत छलफल गरिएको थियो।


820 पटक हेरिएको 

