
सप्तरी : स्थानीय तह खानेपानी, सरसफाइ तथा स्वच्छतामा कानुनी रुपमा सुदृढ हुँदै गएको छ । खानेपानी, सरसफाइ र स्वच्छता सुदृढिकरण र प्रबर्धन गर्न तथा दिगो बिकास लक्ष्य ६ को परिपूर्तिको लागि सप्तरी जिल्लाको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता ऐन पारित गरेको हो।
महुली सामुदायिक बिकाश केन्द्र, सप्तरी र Welthungerhilfe (WHH) को सहयोगमा सन्चालित Up-Scaling WASH System Strengthening Approach in the terai Region of the Nepal परियोजनाको प्राविधिक सहयोगमा बनाएको ऐन गाउँपालिकाले पारित गरी सर्वसाधारणको जानकारीका लागि राजपत्रमा समेत प्रकाशित गरेको छ ।
गाउँपालिकाको १३औ गाउँसभाले पालिका क्षेत्रमा खानेपानी र सरसफाई ब्यबस्थित गर्नको लागि वडा अध्यक्ष्य तेज नारायण यादवको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदलले तयार पारेको मस्यौदा गाउँसभामा दफावार छलफल गरी बिधायन समितिले कानुन निर्माण सम्बन्धी प्रक्रिया अगाडि बढाई खानेपानी तथा सरसफाइ ऐन २०८१ बनाएको हो ।
आगामी दिनमा यो ऐनले स्थानीय सरकारको क्षेत्रगत योजनाको सुदृढीकरणका लागि सक्षम बनाउने महुली सामुदायिक बिकास केन्द्र, सप्तरीका वाश अधिकृत, सन्तोष चौधरीले जानकारी गराउनुभयो।
परियोजनाको प्राबिधिक सहयोगमा ड्राफ्ट भइ खानेपानी सरसफाई ऐन २०८१ डाक्नेश्वरी, राजगढ, विष्णुपुर र सप्तकोशी नगरपालिकाको कार्यपालिकामा दफाबार छलफलमा रहेको र आउदो हिउँदे गाउँसभाबाट पारित गर्ने पालिकाको प्राथमिकतामा रहेको छ।
स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवा प्राप्त गने नागरिकको मौलिक अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गरी स्वच्छ तथा गुणस्तरीय खानेपानी र सरसफाइ सेवा सहज रुपमा उपलब्ध गराउन र ढल निकास र फोहोरपानीको व्यवस्थापन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले यो ऐन गाउँपलिकाले ल्याएको गाउँपलिकाका अध्यक्ष दिनानाथ चौधरीले जानकारी गराउनुभयो।
आगामी दिनमा पनि खानेपानी सरसफाइ तथा स्वच्छता प्रणाली सुदृढ गर्नको लागि थप आवश्यक ऐन, कानुन निर्देशिका नियम मापदण्ड ल्याई कार्यान्वयनमा ल्याउने पालिकाको नीति रहेको प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो।
अग्नीसाईर कृष्णासवरन खानेपानी तथा सरसफाई र स्वच्छता ऐन २०८१

1135 पटक हेरिएको 

