बुटवल : सरकारले सैनामैना नगरपालिका रुपन्देहीलाई फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि स्वीकृति दिने निर्णय गरेसँगै फोहोर प्रशोधन केन्द्र निर्माणको काम अघि बढ्ने भएको छ । मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले सैनामैना–१०, एकला पहाड क्षेत्रमा खोरमोर नदी उकास क्षेत्रको ३.५ हेक्टर वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
यो निर्णयसँगै वनको जग्गाको भोगाधिकार नपाएर वर्सौंदेखि अलपत्र रहेको फोहोर व्यवस्थापनको काम अब सुरु गर्ने बाटो खुलेको छ। सैनामैनाका निवर्तमान नगरप्रमुख चित्रबहादुर कार्कीको पालामै अघि बढेको यो आयोजना भोगाधिकार नपाएकै कारण रोकिएको थियो ।
सरकारको निर्णयसँगै बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाको फोहोर सैनामैना–१० स्थित एकला पहाडमा निर्माण हुने फोहोर व्यवस्थापन केन्द्रमा व्यवस्थापन गर्न बाटो खुलेको छ ।
खोरमोर प्रशोधन केन्द्रको निर्माणका लागि बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाले छ वर्षअघि सम्झौता गरी काम अघि बढाएका थिए । सैनामैना नगरपालिकाका निवर्तमान प्रमुख चित्रबहादुर कार्कीले रुपन्देहीको मात्र नभै अरू जिल्लाको समेत फोहोर व्यवस्थापन गर्न सकिने बताउनुभयो ।
फोहोर प्रशोधन गरी बायोग्यास उत्पादन गर्ने, प्लास्टिक दाना उत्पादन गर्ने र कम्पोस्ट मल बनाउने गरी योजना अघि बढाइएको थियो । सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सरकारले जग्गा प्रयोग गर्न दिने निर्णय गरेकाले अब फोहोर प्रशोधन केन्द्र निर्माणको काम अघि बढ्ने बताउनुभयो ।
फोहोर प्रशोधन केन्द्र निर्माणका लागि निजी क्षेत्रसमेत इच्छुक रहेको बताइएको छ । प्रशोधन केन्द्र निर्माणका लागि २० करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ । त्यसमा एसियाली विकास बैङ्कले समेत ऋण लगानी गर्न चासो देखाएको थियो । यो खबर गोरखापत्रले प्रकाशन गरेको छ।
फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भइसकेको छ । साथै आयोजना स्थलबाट १६४ वटा रुखसमेत हटाइसकिएको छ ।