मधेसका चार जिल्लामा सुनकोशी, कमला र राप्ती नदीको पानी डाईभर्सनका लागि सम्भाव्यता अध्ययन गर्न आशयपत्र माग

  वास खबर सम्बाददाता  247 पटक हेरिएको

काठमाडौं : खानेपानी तथा ढल व्यवस्थापन विभागले हेटौंडाको राप्ती नदीबाट पर्सा र बारा तथा सुनकोशी र कमला नदीको पानी सिरहा र सप्तरीमा आपूर्ति गर्न सम्भाव्यता अध्ययन गर्ने भएको छ। यसको लागि विभागले सम्भाव्यता अध्ययन गर्न परामर्शदाताहरूबाट आशय पत्र पेश गर्न सूचना जारी गरेको छ ।

जलवायु परिवर्तनका कारण नेपालको पानी स्रोतहरूमा गम्भीर असर परेको तथा विशेष गरी तराई क्षेत्रमा भूमिगत पानीको सतह घट्दै गएको, मधेस प्रदेशका जिल्लाहरू, विशेष गरी पर्सा र बारामा लामो समयदेखि खानेपानीको समस्याबाट ग्रस्त रहेकाले त्यसको समाधान गर्न जलाशययुक्त खानेपानी आयोजना गर्ने अवधारणा अनुरुप यो अध्ययन गर्न लागेको विभागले जनाएको छ।

राप्ती नदीबाट पर्सा र बाराका लागि पानी स्थानान्तरण अध्ययन स्थानीय जलस्रोत अभावको दीर्घकालीन समाधान गरी जलस्रोतको दीगो उपयोग गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न महत्त्वपूर्ण रहने खानेपानीमन्त्री प्रदीप यादवले बताउनुभयो । उहाँका अनुसार यो अध्ययनले उपयुक्त प्रविधि, लागत, वातावरणीय प्रभाव तथा सम्भाव्यताका अन्य पक्षहरू पहिचान गर्न मद्दत गर्नेछ। जसले भविष्यमा विस्तृत अध्ययन तथा कार्यान्वयनको आधार तयार गर्नेछ ।

बारा, पर्सा, सिरहा र सप्तरीमा हालको पानी अभावको अवस्थाको अध्ययन गर्ने र पानीको मागको विश्लेषण अन्तर्गत आगामी २५ वर्षको लागि आवश्यक खानेपानीको प्रक्षेपण गरी दीगो सामाधानको लागि सम्भावित जलस्रोतहरूको पहिचान गरी राप्ती नदी र सप्तकोशी तथा कमला नदी र अन्य वैकल्पिक जलस्रोतहरूको गुणस्तर, उपलब्धता, तथा स्थायित्वको मूल्याङ्कन, वातावरणीय र सामाजिक प्रभाव अध्ययन जलस्थानान्तरण तथा वितरण संरचनाहरूले वातावरण र समुदायमा पार्ने प्रभावको प्रारम्भिक मूल्याङ्कन तथा लगानी र लागत लाभ विश्लेषण, परियोजनाको लागत तथा संभावित लाभहरूको अध्ययन गर्नेछ ।

परियोजनाको कार्यको क्षेत्र र अध्ययन प्रक्रिया अन्तर्गत अध्ययनको सेवा क्षेत्र अन्तर्गत बारा र पर्सा तथा सिरहा र सप्तरीकाका भूभागहरू सामेल रहेका छन् भने हाइड्रोलोजिकल, जियोलोजिकल तथा सामाजिक सर्वेक्षणहरू गरी जलस्रोतको उपयोग तथा जलस्थानान्तरण प्रणालीको प्रभावकारिता निर्धारण तथा पानी वितरण प्रणाली, टनेल वा पाइपलाइन संरचनाहरूको सम्भाव्यता अध्ययन गरिनेछ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार