डम्पिङ साइटबाट निस्केको धुँवाले आँखा उघार्नै सकस

  वास खबर सम्बाददाता  162 पटक हेरिएको

देउखुरी : डम्पिङ साइट व्यवस्थापन नहुँदा दाङको लमही बजार दुर्गन्धित बनेको छ । पैदल यात्रु तथा सवारी चालक नाकमुख थुनेर डम्पिङ साइट क्षेत्र पार गर्न बाध्य छन् । सोमबार अजम्मरी सामुदायिक वनभित्र रहेको डम्पिङ साइटमा सल्किएको आगोबाट निस्किएको धुवाँको मुस्लोले आसपासका वस्तीमा प्रदूषण थप फैलिएको छ । धुवाँले वस्ती नै ढाकिएको छ ।

एक साताअघि वन क्षेत्रमा लागेको डढेलो फोहोरमा सल्किएको थियो । प्रदूषणबाट लमही नगरपालिका( ५ गोरक्षटोल, रातो डाँडा, लमही बजार, सुनखोली, न्यूरोड प्रभावित भएका छन् ।

दुर्गन्ध सहित मानव बस्तीमा फैलिएको पिरो धुवाँले स्थानीयवासी बिरामी पर्न थालेका छन् । धुवाँका कारण आँखा पोल्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, बान्ता हुने जस्ता समस्या हुन थालेको स्थानीय शशिराम नेपालीले बताउनुभयो।

नगरपालिकाले फोहोरमा लागेको आगो दमकल प्रयोग गरेर निभाएको दाबी गरे पनि भित्रभित्र आगो झनै फैलिएको स्थानीयको भनाइ छ ।

नगरपालिकाले डम्पिङ साइट व्यवस्थित गर्न नसक्दा धेरैले दुस्ख पाएको सरिता विकको गुनासो छ । वस्ती र जंगलमाथिको आकाश दुर्गन्धित धुवाँले ढाकिँदा गाईबाख्रा चराउन जंगल जानसमेत नसकेको उहाँले बताउनुभयो।

डम्पिङ साइटले निम्त्याएको प्रदूषणका विषयमा नगरपालिकालाई पटक(पटक ध्यानाकर्षण गराए पनि समाधान हुन नसकेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले बताउनुभयो। ‘नगरपालिकामा समस्या राख्दा छिट्टै व्यवस्थापन हुने आश्वासन पाइन्छ । तर समस्या ज्यूँका त्यूँ छ,’ उहाँले भन्नुभयो।

लमही बजार क्षेत्रबाट दैनिक निस्कने फोहोर लमही नगरपालिकाले अजम्मरी सामुदायिक वनमा फाल्दै आएको छ । करिब दुई दशकदेखि यहाँ फोहोर फाल्दै आए पनि नगरपालिकाले डम्पिङ साइटको व्यवस्थापन भने गर्न सकेको छैन ।

वनमा आगो लागेपछि चराचुरुङ्गीको चिरबिर आवाज अजम्मरी सामुदायिक वनमा सुनिन छाडेको छ । रङ्गीविरङ्गी चरा र वन्यजन्तुको चहलपहल घट्दा वनको रौनक घटेको वन्यजन्तु अनुसन्धानकर्ता चिरञ्जीवी खनालले बताउनुभयो।

‘वन क्षेत्रमा आँगो बढ्दै गएपछि चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल देखिन छाडेको छ । जताततै मयुर देखिन्थे, खोल्सीतिर पस्दा थरीथरीका चराको चिरबिर सुनिन्थ्यो । केही दिनयता यी चरा देखिँदैनन्,’ उहाँले भन्नुभयो ‘वनमा बाक्लै भेटिने खरायो, दुम्सी, फ्याउरो र स्याल पनि हराएका छन् ।’ डम्पिङ साइटमा लगाइएको आगो बनमा फैलिएर कतिपय चराचुरुङ्गी र वन्यजन्तु मरेको र कति अन्तै गएको उहाँले बताउनुभयो।

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी भने डम्पिङ साइट व्यवस्थापनमा आफू प्रतिवद्ध रहेको दाबी गरेका छन् । डम्पिङ साइट व्यवस्थापन गर्न नगर सभाबाट निर्णय नै भइसकेको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो ‘डम्पिङ साइट व्यवस्थापनका लागि फिल्डमा खटिन प्राविधिकलाई निर्देशन दिइसकिएको छ । कुहिने र नकुहिने फोहोर घरमै छुट्याएर कुहिने फोहोरबाट मल बनाउने अभियान पनि सञ्चालन गरिएको उहाँको भनाइ छ। लमही नगरपालिकाबाट दैनिक ६५ देखि ७० टन फोहोर निस्किने गर्छ । अनलाइन खबरबाट।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार