प्रदेश सभा सांसदहरुका लागि खानेपानी, सरसफाइ र आयोजना बैंक सम्बन्धी कार्यशाला

  वास खबर सम्बाददाता  497 पटक हेरिएको


पोखरा : गण्डकी प्रदेश सभाका सदस्यहरुका लागि खानेपानी सरसफाइ तथा स्वच्छता साथै प्रदेश आयोजना बैंक सञ्चालन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । युनिसेफ नेपालको प्राविधिक सहयोगमा गण्डकी प्रदेश सरकार ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको आयोजनामा कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाको अध्यक्षतामा गण्डकी प्रदेश सभा सदस्यहरुका लागि खानेपानी सरसफाइ तथा स्वच्छता साथै प्रदेश आयोजना बैंक सञ्चालन सम्बन्धी कार्यशाला बुधबार सम्पन्न भएको हो ।

कार्यक्रमका सहभागीहरुलाई मन्त्रालयका सचिव डा. राजन भट्टराईले स्वागत तथा कार्यक्रमको विषय वस्तु माथि जानकारी दिनुभएको थियो भने गण्डकी प्रदेशको वर्तमान अवस्था, वाश क्षेत्रको प्रगति र आगामी योजनाको विषयमा खानेपानी तथा सरसफाइ महाशाखा प्रमुख ई. नविन अर्यालले जानकारी गराउनु भएको थियो ।

तालिम सत्रमा युनिसेफ नेपालका वास प्रमुख मुहम्मद इरफान सईद अलराईले गण्डकी प्रदेशको वास गभर्नेन्स लगायत वास योजना तयारीमा भुमिकाका बिषयमा बताउनुभएको थियो।

खानेपानी तथा सरसफाई प्रशिक्षण केन्द्रका प्रमुख डा. रजित ओझाले राष्ट्रियस्तरमा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको अवस्था र प्रदेश सरकारसँगको समन्वय विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण चन्द्र देवकोटाले गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना कार्यान्वयनको विषयमा प्रस्तुतीकरण गर्नुका साथै प्रदेश नीति तथा योजना आयोगका उपसचिव ढाकाप्रसाद शर्माले प्रदेश आयोजना बैंक र यसको कार्यान्वयन एवं एनवास प्रणालीसँग समन्वयको विषयमा प्रस्तुतीकरण गर्नुभयो ।

संविधान तथा प्रशासन विज्ञ काशीराज दाहालले संविधानले सुनिश्चित गरेको खानेपानी सरसफाइ क्षेत्रमा मौलिक अधिकार र संघीय परिवेशमा वास क्षेत्रको स्रोत व्यवस्थापन र बाँडफाँडको विषयमा आफ्नो भनाई राख्नुभएको थियो ।

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका प्रशासन शाखा अधिकृत युवराज अर्यालले सञ्चालन गर्नुभएको कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगबाट उपलब्ध दोस्रो पञ्चबर्षीय योजना (आर्थिक वर्ष २०८१/८२- २०८५/८६) पुस्तक गण्डकी प्रदेशसभा सदस्यहरुलाई हस्तान्तरण गरिएका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका प्रवक्ता हरिदत्त पौडेलले जानकारी गराउनुभयो।

गोष्ठीमा गण्डकी प्रदेश सभाका सभामुख कृष्ण प्रसाद धिताल सहित आर्थिक मामिला मन्त्रालयका मन्त्री, डा. टकराज गुरुङ, उद्योग तथा पर्यटन मन्त्रालयका मन्त्री मित्रलाल बस्याल सहित गण्डकी प्रदेश सभा सदस्यहरुको उपस्थिति थियो ।


गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष सहित प्रदेश सभा सदस्यहरु, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रमुख सचिव, प्रदेश स्तरीय राष्टिय गाउँपालिका महासंघका अध्यक्ष, गण्डकी प्रदेशका प्रदेश सचिवहरु, प्रशिक्षकको रुपमा संविधान तथा प्रशासन विज्ञ काशिराज दाहाल र खानेपानी तथा ढल व्यवस्थापन विभागका एनवास प्रमुख डा रजित ओझाको आतिथ्य रहेको थियो।

युनिसेफ नेपालबाट वास प्रमुख मुहम्मद इरफान सईद अलराई, वास विशेषज्ञ दण्डी राम विश्वकर्मा, ध्रुव शर्मा लगायतको उपस्थिति रहेको थियो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार