खानेपानी र सरसफाइमा महिलालाई छुटाउनै हुँदैन : सचिव शाक्य

  वास खबर सम्बाददाता  426 पटक हेरिएको

काठमाडौ : खानेपानी मन्त्रालयका सचिव ई.प्रमिलादेवी शाक्य बज्राचार्यले खानेपानी र सरसफाइमा महिलालाई छुटाउनै नहुने बताउनु भएको छ । ‘खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको प्राथमिकता सह सिर्जनाका लागि बहुपक्षिय कार्यशाला गोष्ठी’ मा सचिव बज्राचार्यले खानेपानी र महिला एक अर्कामा अन्तरसम्बन्धित भएकाले खानेपानी र सरसफाइ कार्यक्रम सञ्चालन गर्दा महिला सहभागिता सुनिश्चितता हुनुपर्ने बताउनु भएको हो ।

उहाँले हालैको भारत भ्रमणमा भारत सरकारले हरेक घरमा खानेपानी सेवा पुर्‍याउन गरेको प्रयास र महिला सहभागिताका कारण भएको सफलताको उदाहरण दिदै नेपालमा समेत महिलालाई उस्तै भूमिका दिनुपर्ने बताउनुभयो । ‘भारतमा हर घर जल कार्यक्रम सञ्चालन गरिएको रहेछ, त्यहाँ खानेपानी खोल्ने, वितरण गर्ने, परिक्षण गर्ने सबै काम महिलाले गर्नुहुँदो रहेछ’ उहाँले भन्नुभयो ‘वाटर क्वालिटी टेस्ट गर्नका लागि कलर कोड वितरण गरिएको रहेछ, कलर कोड सँग म्याचिङ नभए थप परिक्षण गरेर मात्र वितरण गर्ने रहेछ।’

खानेपानी सचिव ब्रजाचार्यले खानेपानीसँग महिलाको नजिकको सम्बन्ध हुने र पानीमा महिला जोटिएपछि आयोजनाहरु सफल भएको पाएको बताउनुभयो । ‘खानेपानी र सरसफाइमा महिला छुटाउनै हुँदैन’ भारतमा हर घर जल कार्यक्रममा उमेर पुगेका महिलाहरुलाई वाटर क्वालिटी कन्ट्रोल गर्न खटाएको रहेछ । उनीरुको पर्फमेन्सको आधारमा पैसा पनि पाईने रहेछ’ उहाँले भन्नुभयो ‘आफ्नै स्वास्थ्यका लागि आफैले खानेपानी परिक्षण गर्ने भनेपछि सुरक्षित पानी मात्र पिउने कुरा भयो ।’

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

उहाँले जुनसुकै क्षेत्रका लागि राजनीतिक प्रतिबद्धता एकदम महत्वपूर्ण हुने भएकाले खानेपानी र सरसफाइलाई उच्चस्तरीय राजनीतिक एजेण्डाको बिषय बनाउनुपर्नेमा जोड दिनुभयो । ‘नेपाल खुलादिसामुक्त राष्ट्र घोषणा गर्दा पनि अहिलेकै प्रधानमन्त्री हुनुहुन्थ्यो। आशा छ, खानेपानी र सरसफाइलाई उच्च राजनीतिक प्राथमिकतामा राख्नुहुनेछ। यसका लागि हामी सबैले प्रयत्न गर्नुपर्नेछ ।’

कार्यक्रममा खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रका चुनौतीहरु, खानेपानी र सरसफाइ क्षेत्रको बहस र पैरवीका लागि आवश्यक पर्ने आधारभूत दस्तावेजहरु के के हुन् ? राष्ट्र प्रमुखको राजनैतिक एजेण्डा र राष्ट्रिय विकास लक्ष्य बीचको सम्बन्ध स्थापना कसरी गर्न सकिछ ? भन्ने बिषयमा समूहगत छलफल गरी प्रस्तुतीकरण गरिएको थियो ।

यस्तै समझदारीको खाका कस्तो हुनुपर्ने र निकट भविश्यमा खानेपानी सरसफाइ र स्वच्छता क्षेत्रमा सञ्चालन गर्नुपर्ने क्रियाकलापहरुका बिषयमा पनि छलफल भएको थियो ।
कार्यक्रममा Sanitation and Water for All (SWA) का राजनीतिक सल्लाहकार डा.बलवन्त गोदाराले  SWA मा नेपालको सदस्यता, SWA को सदस्यता भएपछि नेपालले सम्पादन गरेका कामहरु र विभिन्न देशका राष्ट्र प्रमुख/सरकार प्रमुखले खानेपानी र सरसफाइका लागि लिएको पहलका बिषयमा पनि प्रस्तुतीकरण गर्नुभएको थियो।

विस्तृतमा हेर्नुहोस् यो भिडियो:


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार