
काठमाडौ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ८० प्रतिशत सम्पन्न भएका खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न गराउन आवश्यक बजेट विनियोजन गर्न संघीय खानेपानीमन्त्री प्रदीप यादवलाई आग्रह गर्नुभएको छ । खानेपानीमन्त्री प्रदीप यादव र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य बीच भएको भेटमा मुख्य मन्त्री आचार्यले १५ देखि २० प्रतिशत रकम थप्दा सम्पन्न हुने अवस्थामा रहेका खानेपानी आयोजना सम्पन्न गराउन बजेट विनियोजन गर्न आग्रह गर्नुभएको हो।
मन्त्री यादव र मुख्यमन्त्री आचार्य बीच भएको भेटमा लुम्बिनी प्रदेशमा हाल सञ्चालनमा रहेका विभिन्न खानेपानी आयोजनाका विषयमा छलफल भएको हो । मुख्य मन्त्री आचार्यले भन्नुभयो, “सङ्घीय सरकारबाट लुम्बिनी प्रदेशमा खानेपानीका आयोजनामा करिब रु। अढाई करोडभन्दा बढी रकम लगानी भइसकेको छ, थोरै रकम अभावमा केही योजना सम्पन्न गर्न बाँकी छन्, ती योजना सम्पन्न गरिदिन रकमान्तर गरेर भए पनि बजेट विनियोजन गर्न मेरो आग्रह छ ।”
लुम्बिनीमा कम्तीमा पनि रु. एक अर्बभन्दा बढी मात्रै बजेट विनियोजन भए सङ्घीय सरकारबाट सञ्चालित खानेपानीका आयोजना सबै सम्पन्न हुने मुख्यमन्त्री आचार्यले जानकारी गराउनुभएको थियो । उहाँले भन्नुभयो, “सङ्घले सुरु गरेका खानेपानीका आयोजना सङ्घले नै सम्पन्न गर्नुपर्ने हाम्रो माग छ, सङ्घले बजेट थपदिनु पर्यो, होइन भने आफैँ आयोजना सम्पन्न गर्नु पर्यो ।”
उक्त अवसरमा मन्त्री यादवले थोरै रकमले काम सम्पन्न गर्न सकिने र नागरिकलाई शुद्ध खानेपानी वितरण गर्न सकिने आयोजनाका विषयमा प्रदेश सरकारले लिखित रूपमा मन्त्रालयमा जानकारी गराएको खण्डमा ती आयोजना सम्पन्न गराउने तर्फ मन्त्रालय अघि बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “बजेट अभाव छ, नयाँ योजना नराखौँ, ८० प्रतिशत काम सम्पन्न भएका र थोरै लगानीमा पूर्व रूपमा काम सम्पन्न हुने अवस्थामा रहेका आयोजनाका विषयमा जानकारी दिनुहोला, आयोजना सम्पन्न गर्न हामीबाट पूर्ण सहयोग रहने छ ।”
द्विपक्षीय भेटमा खानेपानी मन्त्रालयका सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्य, लुम्बिनी प्रदेशका सचिव, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.रामकुमार श्रेष्ठ, संघीय खानेपानी तथा ढल व्यबस्थापन आयोजना बुटवलका आयोजना प्रमुख शेखरचन्द्र के.सी. र अर्घाखाँचीका आयोजना प्रमुख अरुण खरेल लगायतको सहभागिता थियो ।


371 पटक हेरिएको 

